काठमाडाैं, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पद नपाएका कारण प्रचण्ड-माधव समूह पार्टीबाट अलग भएको बताएका छन् ।
पाँचथर-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको भेलामा रायमाझीले लडाइँ विचारका लागि नभएकाले समाधान निकाल्न नसकिएको बताए ।
दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरेको पार्टीको आन्तरिक अन्तरविरोधको कारण संसद् विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको समेत उनले बताए । उनले ओलीलाई पछार्छुभन्दा प्रचण्ड-माधव समूह नै सडकमा पछारिएको टिप्पणी गरे । अहिलेको लडाइँ विकास समृद्धि कि विनास, सत्य कि असत्य, राष्ट्रियता कि राष्ट्रिय हितविरुद्ध उभिने सम्बन्धमा भइरहेको उनले बताए ।
प्रचण्ड-माधव समूहका नेताहरूले लामो समयदेखि आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव हाल्न हस्ताक्षर अभियान चलाएकाले बाध्यात्मक रूपमा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको बाटो रोज्नुपरेको उनले बताए ।











