Logo
Logo

राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर


- दृष्टि न्युज/संवाददाता


काठमाडाैं, ११ माघ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारी भएको छ ।

आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय, पशु सेवा विभागका निमित्त महानिर्देशक डा.दमयन्ती श्रेष्ठ र प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रका प्रमुख डा.सहदेव हुमागाईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीको लागू गर्ने कार्य अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माण तर्फको एउटा खुड्किलो भएको बताइन् । व्यापारघाटालाई समेत सन्तुलनमा ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्न मन्त्री अर्यालले आग्रह गरिन् । मन्त्री अर्यालले कार्यान्वयनको चरणमा रहेको कागजरहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोशेढुंगा हुने समेत बताइन् ।

कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले कृषि क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय व्यापारमा अब सहजता आउने बताए । यस्तै एकद्वार प्रणाली कार्यान्वयन आयोजनाको तर्फबाट कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्