Logo
Logo

रवि लामिछाने र न्यूज २४ टेलिभिजनबीच विवाद : सिधा कुरा आजबाट अर्कैले चलाउने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । चर्चित टेलिभिनज कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने र न्यूज २४ टेलिभिजनबीच विवाद चर्किएको छ ।

न्यूज २४ टेलिभिजनले कार्यक्रम ‘सिधा कुरा जनतासँग’ चलाउने निर्णय गरेसँगै विवाद बढेको हो । लामिछानेले आफ्नो कार्यक्रमको अन्तिम एपिसोड चलाएसँगै केही समयका लागि कार्यक्रमबाट विश्राम लिँदै न्यूज २४ छोडेका थिए । उनले बुधबार सामाजिक सञ्जालमा लेखेर न्यूज २४ छोड्ने बताएका थिए ।

तर, न्यूज २४ टेलिभिजनको शुक्रबार बसेको सबै कर्मचारी सम्मिलित बैठकले लामिछाने गएपनि कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै आफ्नै कर्मचारीबाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही विषयले लामिछाने र न्यूज २४ बीच विवाद बढ्ने देखिएको हो ।

के हो विवाद ?

न्यूज २४ टेलिभिजनमा साताको ‘आइतबार, मंगलबार र बिहीवार’ प्रशारण हुँदै आएको कार्यक्रम टेभिजिनको भएको व्यवस्थापन पक्षको दावी छ । लामिछाने कार्यक्रमको प्रस्तोता मात्र भएकाले प्रस्तोताले छोड्दैमा कार्यक्रम बन्द नहुने भएकाले त्यसलाई निरन्तरता दिने तयारी न्यूज २४ को छ ।

उता, लामिछाने भने न्यूज २४ ले ‘सिधा कुरा’ सञ्चालन र प्रसारण गर्न नसक्ने दाबी गरेका छन् । ‘सिधा कुरा’को कानूनी अधिकार आफूसँग सुरक्षित रहेको भन्दै उनले आफ्नो सहमति र सहभागिता विना कसैले पनि लहडका भरमा कार्यक्रम सञ्चालन गर्न नसक्ने दाबी गरे । उता, न्यूज २४ ले भने आफूसँग सामान्य छलफलसमेत नगरी एकलौटी र दुरासयपूर्ण रुपमा लामिछानेले ‘सिधा कुरा जनतासँग’को कानूनी अधिकार हत्याएको आरोप लगाएको छ ।

स्टाफ बैठकमा टेलिभिजनका सञ्चालक संस्था नेपाल ब्रोडकास्टिङ च्यानलका अध्यक्ष अनिल जोशीले कुनै पनि हालतमा ‘सिधा कुरा’ नछोड्ने भन्दै आवश्यक परे कानूनी लडाइँमा पनि जाने बताएका थिए ।

यसअघि पनि भएको थियो विवाद

लामिछानेले सामाजिक सञ्जालमा आफू टेलिभिजनबाट बाहिरिने बताएसँगै न्यूज २४ प्रशासन पक्ष रुष्ट बनेको थियो । त्यसै अनुसार अन्तिम कार्यक्रम प्रत्यक्ष नभई रकेर्ड गर्न पनि दबाब दिइएको थियो । दबाब बढेपछि कार्यक्रम रेकर्ड भयो । तर, कार्यक्रममा बनाइएको महत्वपूर्ण रिपोर्ट भने प्रशारण गर्न दिइएन । प्रशारण नभएपछि लामिछानेले सामाजिक सञ्जालमा रिपोर्ट पोष्ट गरेका थिए ।

उता, त्यस विषयमा पनि न्यूज २४ थप रुष्ट बनेको छ । कार्यक्रम बाहिरबाट बनाएर ल्याएर प्रशारण गर्न खोजेकाले रोकिएको टेलिभिजनमा कार्यरत कर्मचारीले दृष्टिसँग बताए । यदि बाहिर थप अर्नगल प्रचार गर्दै हिँडे अर्को कदम चाल्ने तयारी टेलिभिजन प्रशासनले गरेको समेत ति कर्मचारीले बताए ।

आज कार्यक्रम प्रशारण हुन्छ ?

शुक्रबार र शनिवार बसेको बैठकले ‘सिधा कुरा’ सञ्चालन गर्ने अठोट लिएसँगै आज (आइतबार) राति नियमित प्रशारण गर्ने तयारी गरिएको छ । यसअघि नै सिधा कुरा बन्द हुने भित्रि चर्चा चलेसँगै न्यूज २४ ले प्रशारण सुरु गरेको कल २४का प्रस्तोता सम्झना भुझेललाई कार्यक्रम चलाउन दिने पनि बैठकले निर्णय गरेको छ । उनैले आजबाट कार्यक्रम सञ्चालन गर्ने टेलिभिजनमा कार्यरत अर्का कर्मचारीले बताए । तर, कार्यक्रम प्रस्तोता भने दबाबमा रहेको समेत बुझिएको छ । लामिछानेसँग दाँज्ने र उनका शुभेच्छुकले चर्को आलोचना गर्न सक्ने भएकाले प्रस्तोता निकै दबाबमा रहेको ति कर्मचारीले बताए ।

अनसब्सक्राइब र अनफलो अभियान जारी

लामिछानेले संस्था छोडेसँगै अहिले सबैभन्दा धेरै सब्सक्राइबर रहेको नेपालको समाचार युट्युब च्यानललाई अनसब्सक्राइब गर्ने अभियान नै चल्न थालेको छ । धेरैले ह्यासट्याग अभियान नै चलाउन थालेका छन् । उता, फेसबुकका फलोअर्स र युट्युबका सब्सक्राइबर घटिरहेका छन् । पछिल्लो ३ दिनमा १० हजार सब्सक्राइबर घटेको बुझिएको छ ।

के छ लामिछाने टीमको तयारी ?

अहिलेलाई सिधा कुरा बन्द भएपनि लामिछानेको टिमले गुनासो सुन्न नछोड्ने भन्दै दुई वटा नयाँ हटलाइन नम्बर सार्वजनिक समेत गरिसकेको छ । नयाँ नम्बरमा उत्तिकै गुनासो गर्नेको फोन आइरहेको टिमका सदस्यले बताए । त्यसमाथि पनि सिधा कुरा टिमलाई हुर्काएको टिमसँग व्यापक जनसमर्थन जोडिएको छ । त्यसैले थप परिस्कृत ढंगले जहाँबाट भएपनि सिधा कुरा पुनः प्रशारण हुने तयारी भइरहेको छ । खासमा  सिधा कुरा टीम नयाँ टेलिभिजन खोल्ने योजनामा लागेको छ । बजारमा हल्ला चलिसकेको हुँदा टेलिभिजनमै कार्यरत अर्का एक कर्मचारीलाई सोध्दा उनले पनि थप पुष्टि गरे । योसँगै टेलिभिजनमा रहेका अन्य कर्मचारी पनि लैजाने भयले पनि व्यवस्थापन पक्षले आक्रोश पोखिरहेको ति कर्मचारीले दृष्टिलाई बताए ।

प्रतिक्रिया दिनुहोस्