Logo
Logo

बेरुजु फर्स्योटमा नेपाल प्रहरी सर्वोत्कृष्ट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । आर्थिक वर्ष २०७६/०७७मा बेरुजु फर्स्योट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ । समग्रमा ९५.४६ प्रतिशत फर्स्योट गरी बेरुजु फर्स्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णयअनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्स्योट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट बनाउन योगदान गर्ने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरे ।

पुरस्कृत हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्स्योटमा लगन र मेहनत साथ काम गर्ने प्रहरी कर्मचारीहरूप्रति आभार व्यक्त गरे । यस कार्यमा पूर्व प्रहरी महानिरीक्षकहरू सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीको समेत ठूलो योगदान रहेको उनले स्मरण गरे ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्स्योट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्यभन्दा बढी ९५.४६ प्रतिशत फर्स्योट गरी हालसम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

बेरुजु फर्स्योट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ गरी ३ वटा आवमा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्