Logo
Logo

रहेनन् ‘नरोऊ मायालु’का गायक धनबहादुर


- दृष्टि न्युज/संवाददाता


पोखरा, १२ माघ ।

यो दाजुको मिरमिरे आँखा
कस्तो मेरो बिगा-यो दिमाख
नरोऊ मायालु…!

उल्लेखित चर्चित गीतका गायक धनबहादुर गायकको निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।
पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक थिए । विसं २०२१ मा जन्मनुभएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत थिए । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारंगी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए ।
उनी ‘लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ’ भन्नेमा विश्वास गर्थे । गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए ।


झलकमानले नेपाली मौलिक गीत संगीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरे । उनको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारंगी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए । एक दशकअघि दुई सारंगीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेका छन् । लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारंगी प्रदान गरेर गायकलाई हौसला थप्नुभएको थियो । उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारंगी रेट्न सिकिरहेका छन् ।

सहपाठी र संस्कृतिकर्मीको नजरमा धनबहादुर
पोखरा– १६ बाटुलेचौरका धनबहादुर गायक र म स्कूले सहपाठी हौँ । सानैदेखि गीतसंगीतप्रति उनको रुचि जीवनका अन्तिम प्रहरसम्म उस्तै जीवन्त रह्यो । तत्कालीन समयमा म पोखराको मेयर हुँदा उनी कार्यालय सहयोगी थिए । तर, उनको संगीतप्रतिको झुकाव देखी विन्ध्यवासिनी संगीत पाठशाला खोलेर त्यसको जिम्मा उहाँलाई सुम्पियो । उनी सारंगी र मादलका सम्राट् नै थिए । गन्धर्व समाजका संस्थापकसमेत रहेका उनी राम्रो गायक, रचनाकार पनि हुनुहुन्थ्यो । एकदमै मिलनसार, मुदुभाषी र सामाजिक व्यक्तित्व गायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पु¥याएको छ ।
मैले तत्कालीन समयमा मातृशिशु मितेरी अस्पतालको शिशुस्याहार केन्द्रको सानो भवन उपलब्ध गराएर सारंगी पाठशालाका सञ्चालनका लागि होस्टेमा हैँसे गरेको थिएँ । बाटुलेचौरसँगै झलकमान र जनकविकेशरी धर्मराज थापा अनि पछिल्लो समय धनबहादुर गायकसँग लोकसंस्कृतिको गौरवको गाथा जोडिएको थियो ।

तीर्थ श्रेष्ठ, साहित्यकार तथा संस्कृतिकर्मी
धनबहादुर गायक लोकसंस्कृति एक सशक्त धरोहर हुनुहुन्थ्यो । लामो समयदेखि म उहाँसँग परिचित छु, डाँफे कला मन्दिर आरम्भदेखि हामी सँगै भयौंँ । बहुप्रतिभाशाली उनी गायन, वाद्यवादन, नृत्य तीनै कुरामा पोख्त हुनुहुन्थ्यो । उहाँको गायक सरोजगोपालसँग पनि निकै राम्रो सम्बन्ध थियो । पोखराको कुनै पनि साँगीतिक गतिविधिमा धनबहादुर भएनन् भने के भएन जस्तो लाग्थ्यो । पछिल्लो समय झलकमान गन्धर्व सारंगी संरक्षण पाठशाला खोलेर उनले नयाँ पुस्तालाई सारंगी र मादल सिकाई संस्कृति हस्तान्तरण गरे । यो उनको निकै महत्पूर्ण योगदान हो ।
हरिदेवी कोइराला, प्राज्ञ एवं लोकगायिका
बाटुलेचौरको माटो लोकसंस्कृतिले सिञ्चित छ । गन्धर्व समुदायको बस्ती पनि यस क्षेत्रको एउटा विशेषता हो । सामाजिक मूल्यमान्यता, रहनसहन, संस्कृति र संस्कारको प्रतिविम्ब लोकगीतको मौलिकतामा भेटिने यस क्षेत्रका सर्जक धनबहादुर गायकको निधनले अपूरणीय क्षति पु¥याएको छ । उनी अजर –अमर गीतका सर्जक मात्र नभई कुशल वाद्यवादक पनि हुनुहुन्थ्यो । उहाँ पोखरेली संगीतका क्षेत्रमा मात्र नभई नेपालको संगीत क्षेत्रको एउटा असल संगीतकर्मी पनि हुनुहुन्थ्यो । उहाँ पुर्खाको चिनोलाई जर्गेना गर्न तल्लीन हुनुभयो । उहाँले पछिल्लो पुस्तालाई सारङ्गीको संरक्षणमा सहभागी गराउनुभयो । लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमा उहाँले पु¥याएको योगदान निकै महत्वपूर्ण छ । -रासस

प्रतिक्रिया दिनुहोस्