Logo
Logo

भाेलि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि (मंगलबार) बस्दैछ ।

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्नेबारे छलफल हुने बताइएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा हुने हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

महतका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ । बैठकको अघिल्लो दिन सोमबार सानेपामा दुई महामन्त्रीसहित दुबै पक्षका नेताहरु छलफलमा जुटेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । तर सभापति निकट नेताहरुले भने सभापतिसँगै सल्लाह गर्नुपर्ने धारणा राखेका थिए ।

पार्टी कार्यालयमा दुबै पक्षका नेताहरुको बस्नु अघि पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । नेताहरुले संसद विघटन असंवैधानिक भएकाले आन्दोलनका थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको नेताहरु बताउँछन् । उनले अदालतमा विचाराधीन मुद्धामा बोल्न नहुने र अदालतलाई यसो गर भनेर आन्दोलन गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्