Logo
Logo

‘आइ लभ यू’ भन्नेहरु धेरै छन्-सुस्मिता श्रेष्ठ, अभिनेत्री


- दृष्टि न्युज/संवाददाता


मोफसल धरानबाट ग्ल्यामरस क्षेत्रमा पाइला राखेकी सुस्मिता श्रेष्ठ चलचित्र क्षेत्रमा उदयमान नायिका हुन् । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनको व्यस्तता बढ्दै गएको छ । सन् २०१७ मा मिस कोशी भएर चर्चामा आएपछि उनले चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । उनले हालसम्म चारवटा नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले हालैमात्र चलचित्र ‘झन्डीबुर्जा’को सुटिङ सकेर बसेकी छन् । यिनै मोडल तथा अभिनेत्री श्रेष्ठसँग दृष्टिको जम्काभेट :

कोरोना महामारीका बेलामा के गर्नुभयो ?

त्यो बेला चारतर्फी बन्द थियो । बाहिर जाने कुरै भएन । घरमै सुरक्षित तरिकाले बसेँ । अभिनयबारे अध्ययन गरेँ । सामाजिक सञ्जालमा अझ अभ्यस्त हुन सक्रिय भएँ । त्यतिकै समय खेर फालिनँ ।

अहिले के गर्दै हुनुहुन्छ ?

अहिले नयाँ मुभीको सुटिङका लागि तयारी गर्दैछु । भर्खरमात्र एउटा मुभीको सुटिङ सक्याएँ ।

कुन मुभी ?

‘झन्डी बुर्जा’ । उक्त चलचित्रमा मेरो मुख्य भूमिका रहेको छ ।

त्यो मुभी कहिले रिलिज हुन्छ ?

आगामी दशैँमा रिलिज गर्ने लक्ष्य छ । सुटिङ सकिएको एक महिना भयो । अब गीतको मात्र सुटिङ बाँकी छ ।

अहिलेसम्म कति वटा मुभीमा अभिनय गर्नुभयो ?

चार वटामा मुभीमामा अभिनय गरेकी छु । तीनवटा रिलिज भइसकेको छ । एउटा रिलिज हुने क्रममा छ ।

फिल्म क्षेत्र कस्तो लागिरहेको छ ?

हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने नै हुन्छ । संघर्ष गरिरहेकी छु । आफूले रोजेको क्षेत्र र पेसा भएकाले रमाइलो भइरहेको छ ।

सुन्दर हुनुहुन्छ, प्रेम प्रस्ताव कत्तिको आउँछ ?

म एउटी केटी मान्छे हुँ । एक जवान केटी मान्छेलाई प्रेम प्रस्ताव आउनु सामान्य हो । मलाई पनि आउँछ ।

ब्याइफ्रेन्ड बनाउनु भएको छ कि छैन ?

अहिलेसम्म बनाएकी छैन । सिंगल नै छु । समय र परिस्थितिले एक दिन अवश्य जुराउला नि ।

आई लभ यू कति जनाले भने ?

त्यो गन्ती नै छैन । धेरैले भनेका छन् । गनेर राख्न मिलेन क्यारे ।

दैनिक प्रेम प्रस्ताव आउँछ कि कहिलेकाहीं ?

सामाजिक सञ्जाल फेसबुकमा पनि सक्रिय छु । त्यसैले फेसबुक र इन्स्टाग्राममा दिनका दिन आउँछ ।

तपाइँ के उत्तर दिनुहुन्छ ?

के भन्नु र ? धन्यवाद भन्छु । अरु धेरै कुरा गर्दिनँ ।

केटा साथी छ कि छैन ?

केटा साथीहरु त भइहाल्छन् नि । तर, केटा साथी बनाउँदैमा प्रेमीचाहिँ बनाएको छैन ।

अब केटा साथी बनाउने कि न बनाउने ?

त्यो बेला भएपछि आफै हुन्छ । अहिले त करिअरमा पो ध्यान दिने समय हो । संघर्ष गर्दैछु । यसै क्षेत्रमा करिअर बनाउने सोच छ । त्यसैले सिक्दैछु ।

विवाह गर्ने चाहना छैन ?

छ नि । तर, समय भएको छैन । विवाह त भगवानले जुराएका हुन्छन् रे ।

नायिका भएकाले ढिलो विवाह गर्ने सोच बनाएको हो ?

चाँडो विवाह गर्नेहरु पनि हुनुहुन्छ । तर, अहिले समय परिवर्तन भइसक्यो । पहिला करियर हेर्नुप¥यो । लाइफ हेर्नुप¥यो । दर्शकलाई राम्रो खालका मुभीहरु हेर्ने अवसर दिनुपर्छ । त्यसपछि विवाह गरौँला नि ।

फिल्म खेलेकै भरमा बाँच्न पुग्छ ?

अहिलेसम्म त पुगिराखेको छ । मिहेनत गरेपछि पुगिहाल्छ नि । हरेक काममा मिहिनेत र धैर्यता चाहिन्छ । सफल भइन्छ ।

कलाकारिता क्षेत्रमा अगाडि बढ्न ब्याकअप चाहिन्छ भन्छन् नि ?

मलाई ‘ब्याकअप’मा भर लाग्दैन । आफूमा क्षमता चाहिन्छ । अरुको साथ र सहयोग पनि आवश्यक पर्छ ।

परिवारबाट कत्तिको सहयोग पाउनु भएको छ ?

यो क्षेत्रमा मेरो परिवारको साथ छ । परिवारकै हौसला र प्रेरणाले यहाँसम्म आइपुगेकी हुँ ।

सफल हुन्छुजस्तो लाग्छ ?

ममा त्यो आत्मबल छ । कहिले धैर्यता गुमाउँदिनँ । एक दिन अवश्य शिखरमा पुग्नेछु । काम छाड्दिनँ ।

गल्यामरस क्षेत्रमा लाग्नेहरु तनावमा पर्ने र आत्महत्याको बाटो रोज्नेसम्म भइराखेका छन् नि ?

तनाव त हरेक क्षेत्रमा लाग्नेहरुलाई हुनसक्छ । त्यो आफूमा भर पर्ने विषय हो । अरु क्षेत्रको घटना बाहिर आउँदैन । ग्ल्यामरस क्षेत्रको आइहाल्छ । तर, तनावमुक्त हुनुपर्छ ।

तनावमुक्त हुन के गर्नुहुन्छ ?

म व्यस्त रहन चाहन्छु । काममा दत्तचित्त भइरहन्छु । काम र कर्तव्यप्रति लगाव राख्छु । म कामलाई पूजा गर्छु ।

 

प्रतिक्रिया दिनुहोस्