Logo
Logo

‘माउन्ट केटु’को कीर्तिमानी आरोहीलाई अवार्ड दिने प्रधानमन्त्रिकाे घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ माघ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा हिउँद याममा आरोहण गरी कीर्तिमान कायम गरेका निर्मल पूर्जासहित नेपाली आरोहीहरुको टोलीलाई सरकारले सम्मान गरेको छ ।

मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोही टोलीलाई सम्मान गरेका हुन् । निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर मंगलबार नै स्वदेश फर्केको हो ।

सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने बताए ।

त्यस्तै उनले अब राज्यले साहसी आरोहीलाई अवार्ड दिने घोषणा गरे । हिमाल आरोहणको अनुभवलाई सामान्य रुपमा लिन नहुने भन्दै आरोहीबाट सबैले प्रेरणा लिन सक्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले माउन्ट केटु आरोहणमा आफूलाई मन लागेको तर त्यो दुस्साहस आफूले नगरेको धारणा राखे ।

प्रधानमन्त्री ओलीले माउन्ट केटु आरोहणमा आफू पनि जान पाएको भए अझ बढी धुमधाम हुन्थ्यो होला भने । ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले भने, ‘अझ बढी धुमधाम हुन्थ्यो ।’ त्यो दुस्साहस आफूले गरेको भए फर्केर नआउने ठट्टासमेत प्रधानमन्त्रीले गरे ।

त्यस्तै केटु हिमाल आरोही टिमको नेतृत्व गरेका निर्मल पुर्जाले नेपालको नाम विश्वमा चिनाउने उदेश्यका साथ हिमाल आरोहणमा गएको बताए । उनले आरोहण टोलीलाई राज्यले उचित सहयोग गर्नुपर्ने धारणा राखे ।

यसअघि स्वदेश फर्के लगतै आरोहण टोलीलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाले उपत्यकाका बिभिन्न स्थानको परिक्रमा गराएको थियो ।

म्याग्दीका पुर्जासहित नेपाली आरोही टोलीले माघ ३ गते दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्