Logo
Logo

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता


- दृष्टि न्युज/संवाददाता

3.3k
Shares

काठमाडौं, १३ माघ । नागरिक अभियन्ता एवम् पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । एक अन्तरक्रिया कार्यक्रममा ढुंगानाले बोलेका कुरालाई लिएर ढुंगानाविरुद्ध अवहेलनाको मुद्दा दायर भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

गत सोमबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा ढुंगानाले नेकपाको दाहाल–नेपाल समूहले नागरिक समाजसितको छ्लफलमा सडकबाट नै न्यायाधीश तान्नुपर्ने अवस्था आउन सक्ने अभिव्यक्ति दिएका थिए ।

उनले भनेका थिए, ‘न्यायाधीशहरुले संविधान नाघेर फैसला गर्न सक्दैनन्, उनीहरुको पनि पदीय सुरक्षाको कुरा छ । सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ । हामीले संसारमा देखेका छौँ, फिलिपिन्समा त म पुगेकै बेला त्यस्तो भएको छ ।’

यस्तै अवकाशप्राप्त प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि कानुन व्यवसायीले रिट निवेदन दिएका छन् । उनीहरुको ठेगाना खुलाएर रिट नआएकाले अहिलेसम्म दर्ता भइनसकेको ढकालले जानकारी दिए ।

सर्वोच्चमा मंगलवार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्