Logo
Logo

महिला फुटबल : एपीएफकाे लगातार तेस्रो जित


- दृष्टि न्युज/संवाददाता

52
Shares

काठमाडौं, १३ माघ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले लगातार तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन अन्जली कुमारी योन्जन र सरु लिम्बुले एक एक गोल गरिन् । बलियो टिम आर्मीविरुद्ध एपीएफले दुबै गोल पहिलो हाफमा गरेको थियो ।

जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । एपीएफ तालिकाको शीर्ष स्थानमा रहेको छ । आर्मीको यो पहिलो हार हो । आर्मी ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकासँग १-१ गोलको बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ दुबै टोलीले गोल गरेका थिए । विदेशी खेलाडी मिथो रुथले ५३ औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

तर, खेलको ६५ औं मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काईन् । बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । वालिङको यो दोस्रो बराबरी हो । वालिङले ३ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्