Logo
Logo

पार्टीको आधिकारिकता हामीसँग छ : अध्यक्ष नेपाल


- दृष्टि न्युज/संवाददाता

65
Shares

पाँचथर, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताएका छन् ।

नेकपा पाँचथर जिल्ला कमिटीले मंगलबार फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको बताए । उनले भने, ‘निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।’

चार सय ४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले संविधानको कुनै धारामा नटेकी प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको जिकिर गर्दै यसबाट उक्त निर्णय अवैधानिक भएको र राजपत्रमा विधि सम्मतरुपमा प्रकाशन नभएको आरोप लगाए । सबैको असन्तुष्टि भएपछि प्रधानमन्त्रीलाई त्यसको कारण खोज्न सुझाव दिए ।

प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता र सहकार्य जारी हुन सक्ने बताउँदै नेता नेपालले आफू कुनै पदको लोभ नगर्ने र समस्या नबन्ने बताए । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री ओलीका कारण देशको अग्रगमन र समृद्धिमा बाधा परेको आरोप लगाए ।

पूर्वमन्त्री शर्माले विगतदेखि नै एमाले र माओवादीबीच भएका सहमति र सहकार्यका आधारमा पार्टी एकता भएको बताउँदै नयाँ ढङ्गले पार्टी सङ्गठन निर्माण गरिने जानकारी दिए ।

फुङलिङ– नेता नेपालले पूर्वनेकपा एमालेलाई १५ वर्ष आफूले नेतृत्व गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डको मामूली कार्यकर्ताको सङ्ज्ञा दिएर नजिस्काउन आग्रह गरे ।

आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको बताए ।

आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेको जनाउँदै उनी अध्यक्ष नरहेको नेपालले जिकिर गरे । जबज भनेको पार्टीको लोकतान्त्रीकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको तर ओलीसँग त्यो सिद्धान्त नभएको नेपालले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्