Logo
Logo

शहीद माथेमाको सम्झनामा श्रद्धाञ्जलि


- दृष्टि न्युज/संवाददाता

52
Shares

काठमाडौं, १३ माघ । शहीद सप्ताहको तेस्रो दिन धर्मभक्त माथेमाको सम्झनामा श्रद्धाञ्जलि सभा सम्पन्न गरिएको छ । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ ।

सप्ताहको तेस्रो दिन कामपाले शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा सभाको आयोजना गरेको हो । माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । विसं १९६६ आश्विन ९ गते पिता सुब्बा आदिभक्त र माता चन्द्रकुमारी देवीको कोखबाट काठमाडौँको ओमबहालमा माथेमाको जन्म भएको थियो ।

श्रद्धाञ्जलि सभामा कामपाको प्रमुख विद्यासुन्दर शाक्यले निरङ्कुशताबाट नेपाली जनतालाई मुक्त गराउन ज्यानको आहुती दिने शहीदकै कारण मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

विसं १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशम्शेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजीवन कैदमा परिवर्तन गरियो ।

जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलको बकाइनाका रुखमा झुण्ड्यार प्राणदण्ड दिइएको थियो । त्यस्तै माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानेर प्राणदण्ड दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्