काठमाडौं, १४ माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस लम्बिने देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानून व्यवसायीहरूका लागि समय तोकेका छन् ।
उनले कानूनविद्हरुलाई बहसका क्रममा १५ मिनेटभन्दा बढी समय दिन नसकिने भन्दै छोट्याउन आग्रह गरेका छन् । उनले भने, ‘अब १०/१५ मिनेटभन्दा समय नदिइदिनुहोला । हामी दिन पनि सक्दैनौं । यहाँहरुले हठ नगर्नुहोला ।’
प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन् । उनले भने, ‘तपाईंहरुको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ । उहाँहरुलाई पनि समय दिनैपर्यो । यसलाई प्रिय नै मानिदिनुहोला ।’
संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ । कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटनको घोषणा गरेकी थिइन् ।