काठमाडौं, १५ माघ । ठगी आरोपमा अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार साँझ सर्लाहीस्थित् उनैको निवासबाट अग्रवाललाई पक्राउ गरेको हो ।
परिसरका एसएसपी अशोक सिंहका अनुसार उखु किसानको रकम भुक्तानी नगरेकाले अग्रवाललाई पक्राउ गरिएको हो । उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।
यसअघि पटकपटक उखु किसान र चिनी मिल सञ्चालकबीच बाँकी रकम दिने सहमति भए पनि किसानले अहिलेसम्म रकम पाउन सकेका छैनन् । रकम पाउनु पर्ने माग राख्दै किसानले काठमाडौं आएर समेत प्रर्दशन गरेका थिए ।
अग्रवाल नवलपरासी पश्चिमस्थित इन्दिरा चिनी मिलका समेत सञ्चालक हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अन्नपूर्ण चिनी मिलले अहिलेसम्म ९ करोड ९० लाख रुपैयाँ मात्रै किसानलाई भुक्तानी गरेको छ । मिलले किसानलाई अझै १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
गृह मन्त्रालयले गत मंसिर ३० गते किसानको पैसा नदिने चिनी मालिकलाई पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । मंसिर २८ गते भुक्तानीका लागि दबाब दिन किसानहरु तराईबाट काठमाडौं आएका थिए । उनीहरु केही दिन माइतीघरमा धर्नासमेत बसेका थिए ।
२१ दिनभित्र उद्योगीबाट भुक्तानी दिलाइदिने भनेपछि पुस १३ गते सरकार र किसानबीच ४ बुँदे सहमति भएको थियो । उक्त सहमतिपछि किसानहरुले आन्दोलन फिर्ता गरेका थिए ।











