काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको दाबी गरेका छन् । बिहीबार नेपाल ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता जंगलमा राखे पनि प्रचण्ड दिल्ली बसेको बताएका हुन् ।
‘जंगलमा त न हिजो बस्नु भएको थियो न अब बस्नु हुन्छ । जनयुद्धको बेला उहाँ त दिल्ली, लखनौंमा हुनुहुन्थ्यो, हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँ जंगलमा बस्नु भएको होइन, जंगलमा त अरुलाई बसाउनुभयो, कार्यकर्ता बसाउनुभयो, लडाकू बसाउनुभयो, जंगलमा । आफूहरु त जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो ।’
अब प्रचण्डको जाने ठाउँ कतै पनि नभएको प्रधानमन्त्री ओलीले बताए । उनले भने ‘उहाँ त कहिले रोल्पाबाट लड्नु भयो, त्यसपछि सिराह जानुभयो, त्यसपछि किर्तिपुर कता जानुभयो, त्यसपछि कत, अब जाने ठाउँ कतै पनि छैन ।’

ओलीले आज आफ्नो पार्टी सबैभन्दा अनुसाशित भएको बताए । ‘आज देश एउटा दोबाटोमा छ । हामीलाई अलिकति मनमा कसोकसो लाग्न सक्छ पार्टी फुट्यो भनेर, पार्टी फुट्यो भन्ने चिन्ता हुन सक्छ , उनले भने ‘आज हाम्रो पार्टी नेपालमा सबैभन्दा एकताबद्ध पार्टी हो । सबभन्दा अनुसाशित पार्टी हाम्रो हो ।’
प्रचण्ड-माधव समूह हुँदा नेकपा सबैभन्दा गएगुज्रेको, अराजक र अनुसाशनहिन पार्टी भएको बताए । ‘हिजो नपालको पार्टीहरुमध्ये सबैभन्दा गएगुज्रेको, अराजक, अनुसाशनहिन हाम्रो पार्टी भएको थियो,’ उनले भने, ‘बिरामी के रहेछ भने ती पिलाे पाे रहेछ निचोरिएर गयाे ।
अहिले प्रचण्ड माधव समूहका नेता कार्यकर्ता जनतासामू जान नसकेको बताए । उनले अहिले आफ्नो पार्टीमा एकै मत र एउटै लक्ष्य भएको बताए । ‘पार्टी, पार्टी जस्तो थियो र ? बैठक, बैठक जस्ता थिए र ? यसरी भेल गर्न सकिन्थ्यो ? अघि नै उताबाट एउटा कराउथे, अर्कोतिरबाट दश ओटा कराउथे, च्याउँच्याउँ र म्याउँम्याउँ गरेर अनेक उत्पाद मच्चिसक्थे,’ उनले भने, ‘अहिले पार्टी त्यस्तो छैन । एक मत, एक विचार एक उद्देश्य, एउटा धेय, एउटै धारणा ।’
उनले तीन महिनामा प्रचण्ड माधव समूह नागरिक समाज बन्ने टिप्पणी पनि गरे । ‘एकजना साथी त अस्ति नागरिक समाजको अगुवा भएर जानुभएछ । मैले यसो हेरें, चित्रमा नियालेर, अरु छन् कि छैनन् भनेर । अरु अझै गएका रहेनछन् । प्रचण्ड-माधवहरूको पनि बाटो त्यही हो । उनीहरू पनि नागरिक अगुवा भएर त्यहीँ पुग्छन् । पार्टी-सार्टी सिद्धिन्छ’, उनले भने, ‘तीन महिना लाग्छ, तीन महिना । तीन महिनामा नागरिक समाज यिनीहरु पनि हुन्छन्।’
ओलीले पार्टी भनेको भट्टी पसल हो ? भन्दै प्रश्न गरे । ‘मलाई प्रतिनिधि सभा, पार्टीमा कामै गर्न दिएनन्। वास्तवमा त्यसै गरेर पार्टी चल्ने हो भने त्यस्तो पार्टी विघटन गरेर अर्को पार्टी घोषणा गर्नुपर्ने अवस्था आउन सक्थ्यो। चल्दै नचल्ने झगडाको थलो हो ? पार्टी भट्टी पसल हो ?’, उनले भने ।











