Logo
Logo
प्रधानमन्त्री कपको उपाधि आर्मीलाई

प्रधानमन्त्री कपको उपाधि आर्मीलाई


- दृष्टि संवाददाता

252
Shares

काठमाडौं, १७ माघ । त्रिभुवन आर्मी क्लबले चौंथो संस्करण प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो । अन्तिम चार बलमा ३ विकेट गुमाएपछि एपीएफ उपाधिबाट बन्चित भएको हो ।

एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३–३ विकेट लिए ।
सुशन भारीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले । एपीएफका अविनास बोहोराले ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १–१ विकेट लिए ।

उपाधिसँंगै आर्मीले १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ५ लाखमा चित्त बुझायो । आर्मीको यो पहिलो एकल उपाधि हो । यस अघि पहिलो संस्करणमा आर्मीले उपाधि पुलिससँग बाडेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्