Logo
Logo

‘होनाहार’ विदेशी नागरिकलाई यूएईले नागरिकता दिने


- दृष्टि संवाददाता


काठमाडौं, १८ माघ । संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो देशको विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने भएको छ ।

यूएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले यूएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् ‘होनाहार’ व्यक्तिलाई नागरिकता दिन लागिएको बताएका हुन् ।

यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने बीबीसीले जनाएको छ । कम आय भएका व्यक्तिले यो प्रावधानमार्फत नागरिकता पाउन भने कठिन रहेको खबरमा उल्लेख गरिएको छ ।

यूएईको विकासको यात्रामा योगदान गर्न सक्ने व्यक्तिहरुलाई आकर्षित गर्न यस्तो प्रावधान ल्याएको उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले बताएका छन् ।

युएईको राजपरिवारका सदस्य वा कुनै अधिकारीले कुनै विदेशीलाई नागरिकता दिन सिफारिस गर्नेछ । त्यसपछि युएईको क्याविनेटले यसबारे निर्णय गर्नेछ ।

यो निर्णय यस्तो समयमा भएको छ कि कोरोना महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी युएई छाडेर बाहिरिरहेका छन् ।

अबुधावीबाट निस्कने अखबार द नेशनलका अनुसार नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ, र बिदेशी लगानीकर्तालाई युएईमा अवसर मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्