काठमाडौं, १८ माघ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन् ।
नयाँ अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक गरी विभिन्न संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीलाई सभामुख सापकोटाले संसद् सचिवालयमा दर्ता नगरी फिर्ता पठाएका हुन् ।

सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने त्यही दिन साँझ बसेको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए ।
प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ समिति नभएकाले सुनवाइ हुन नसक्ने भन्दै सापकोटाले सिफारिस फिर्ता पठाएको उल्लेख गरेका छन् ।
५ पुसमा प्रतिनिधिसभा भंग गरेसँगै अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो ।












