काठमाडौं, १८ माघ । नेकपा केपी शर्मा ओली समुहले माघ २३ गते नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सभा भृकुटीमण्डपबाट नारायणहिटी दरबार अगाडि सारिएको हो ।
प्रदेशस्तरको आमसभा भएकाले बागमती प्रदेशका १३ जिल्लाबाट जनता आमसभामा सहभागी गराइने ओली पक्षका केन्द्रीय सदस्य आनन्द पोखरेलले बताए । सभाका लागि २ लाख जनता सडकमा उतार्ने ओली पक्षको दाबी छ ।
प्रधानमन्त्री ओलीको सभामा जान हिन्दुवादी र राजावादीहरूले उर्दी जारी गरेको चर्चा चलिरहेको बेला नारायणहिटी दरबार अगाडि सभा राखिनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । गत १२ माघ गते पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका थिए ।
देश, जनता र चराचर जगत्को सुख र शान्तिको कामना भन्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पञ्चामृत पूजा गरेका थिए । देशका कार्यकारी प्रमुखबाट यस्तो पूजा पहिलोपटक भएको हो । प्रधानमन्त्री ओलीले एक लाख २५ हजार दीप पनि प्रज्ज्वलन गरेका थिए ।
आमसभा २३ गते दिउँसो १२ बजेदेखि सुरु हुने छ । उक्त दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको सांगीतिक प्रस्तुति लिएर टोली जुलुसमा सहभागी हुने कमिटीले जनाएको छ ।
यसअघि प्रचण्ड–नेपाल पक्षले माघ ९ गते भृकुटीमण्डप नजिकको सडकमा आमसभा गरेका थिए। त्यस आमसभालाई लक्षित गर्दै ओलीले आमसभा कस्तो हुन्छ भन्ने २३ गते देखाउँछौं भनेका थिए।











