Logo
Logo

काश्मिर आक्रमण : भारतीय आरोप पाकिस्तानद्वारा खण्डन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ फागुन (एजेन्सी) ।
भारत प्रशासित काश्मिर आक्रमणमा भारतले पाकिस्तानमाथि लगाइएको आरोप उसले खण्डन गरेको छ । बिहीबार काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको आक्रमणमा परी ४२ जना भारतीय सुरक्षा फौजको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका छन् ।
उक्त आक्रमणको जिम्मा पाकिस्तानस्थित इस्लामिक समूह जैश–ए–मोहम्मदले लिएपछि भारतले पाकिस्तानमाथि आरोप लगाएको हो । तर, पाकिस्तानले प्रतिक्रिया दिँदै आफूलाई यत्तिकै आरोप नलगाउन भनेको छ । पाकिस्तानले पलुवामा जिल्लामा भएको हमला गम्भीर चिन्ताको विषय बताएको छ ।
पाकिस्तानले भनेको छ, ‘कुनै अनुसन्धान बिना नै हमलाको सम्बन्ध पाकिस्तानसँग भएको बताउने भारतीय मिडिया र सरकारको कुनै पनि आरोप खारेज गर्छौं ।’
भारतीय मिडियाले जम्मू काश्मिरमा अहिलेसम्म भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला बताएको छ । भारतीय प्रहरीले अन्तर्राष्ट्रिय मिडियालाई जनाएअनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवान बोकेको बससँग ठोक्काएको थियो ।
उक्त आत्मघाती घटनामा भारतले पाकिस्तानको कडा आलोचना गर्दै चरमपन्थी समूहलाई सहयोग गर्न बन्द गर्न र उनीहरुको जमिनबाट चलिरहेको चरमपन्थी संगठनलाई नष्ट गर्न माग गरेको छ । तर, त्यसलाई पाकिस्तानले ठाडो अस्विकार गर्दै उक्त आक्रमणमा आफ्नो कुनै हात नभएको बताएको छ । पाकिस्तानको तर्फबाट जारी बयानमा भनिएको छ, ‘संसारको कुनै पनि भागमा भएको हिंसाको पाकिस्तानले सधैं निन्दा गरेको छ । हामी कुनै अनुसन्धान बिना हमलाको सम्बन्ध पाकिस्तानसँग भएको भारतीय मिडिया र सरकारको कुनै पनि आक्षेप खारेज गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्