Logo
Logo

‘बोल्ड’ समाजले पचाउने हुनुपर्छ- लक्ष्मी राई, मोडल


- दृष्टि संवाददाता


इलाम मैमज्जाकी लक्ष्मी राई अहिले मोडलिङमा संघर्षरत छिन् । कलाकारितामै करिअर बनाउने उनको लक्ष्य छ । सानोमा फिल्म हेर्दा उनी सोच्थिन्, ‘म पनि यस्तै पर्दामा छमछम नाच्ने हिरोइन बन्छु’ अर्थात फिल्ममा हिरोइनको नृत्य हेरेरै लक्ष्मी कलाकारिताप्रति प्रभावित भएकी हुन् । उनको कलायात्रा पनि नृत्यबाटै सुरु भएको हो । लक्ष्मी एक कुसल नृत्यकार हुन् । गाउँबाटै कलाकारिता आरम्भ गरेकी लक्ष्मी भन्छिन्, ‘कलाप्रति मोह बढ्दै गएपछि नृत्य गर्न थालेकी हुँ । हिजोआज त नृत्यु, अभिनय र मोडलिङ गर्दै आएकी छु ।’ फिल्म ‘म यस्तो गीत गाउँछु–२’मा समेत अभिनय गरेकी लक्ष्मी आफूलाई ‘हट एण्ड बोल्ड’ ठान्छिन् । ग्ल्यामरस क्षेत्रमा अलि–अलि ‘बोल्ड’ चाहिने उनको बुझाइ छ । उनी अभिनित फिल्म रिलिजको तयारीमा छ । यसका अलावा दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी लक्ष्मी लकडाउनमा इलाममै थिइन् । केही सयम अघिमात्र काठमाडौं आएकी उनी यतिखेर स्नातक तह अध्ययनका लागि प्रिपियर गरिरहेकी छन् । २२ वर्षीया लक्ष्मी भन्छिन्, ‘कलाकारिता र अध्ययनकै लागि काठमाडौं आएकी हुँ ।’ यिनै संघर्षरत मोडल लक्ष्मी राईसँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

अहिले त्यतिकै बसिरहेकी छु । भर्खरै काठमाडौंमा आएकी हुँ । लकडाउनभरि इलाममै बसेँ । अब केही गर्नुपर्छ कि भनेर प्रिपियर गर्दैछु ।

मोडलिङमा लाग्नुभएको कति भयो ?

चार÷पाँच वर्ष जति भयो । सन् २०१६ देखि म यस क्षेत्रमा छु । त्यसअघि पनि नृत्य गर्थे ।

मोडलिङप्रति कसरी प्रभावित हुनुभयो ?

म सुरुमा नृत्यप्रति मोहित थिएँ । सानो छँदा फिल्म हेर्दा हिरोइनहरु नाचेको खुब मन पर्दथ्यो । त्यतिखेर सोच्थेँ कि म पनि यस्तै बन्न पाए हुन्थ्यो । त्यसपछि नृत्य सिक्न थालेँ । इलाममा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा नृत्य गर्थेँ । नृत्य गर्दागर्दैै मोडलिङ सुरु गरेकी हुँ ।

काठमाडौं आउनुभएको कति भयो ?

एक वर्षमात्र भयो । कोरोना संक्रमणका कारण लकडाउन हुने भएपछि इलाम नै फर्केँ । त्यसपछि भर्खरै काठमाडौं आएकी हुँ ।

कलाकारिता इलामबाटै सुरु गर्नुभएको हो ?

हो, स्कुल पढ्दै गर्दा नै नृत्यबाट कलाकारिता सुरु गरेकी हुँ । जब एसएलसी सकेँ, त्यसपछि काठमाडौं आएकी हुँ ।

मोडलिङकै लागि काठमाडौं आउनुभएको हो ?

सानैदेखि इच्छा भएकाले त्यो पनि हो । त्यसबाहेक अध्ययनका लागि पनि हो । अहिले मोडलिङ र अध्ययनलाई एकसाथ अगाडि बढाउने सोच बनाएकी छु ।

पढाइ कहाँ पुग्यो ?

प्लस–२ सकेर बसेकी हुँ । अहिले स्नातक तह जोइन गर्ने तयारी गर्दैछु ।

मोडलिङ क्षेत्र कस्तो लागिरहेको छ ?

आफ्नै रुचि र इच्छाले रोजेको क्षेत्र हो । त्यसैले रमाइलो लागिरहेको छ । यो मेरो संघर्ष पिरेड हो, केही गाह्रो भएपनि म खुसी नै छु ।

निकै ‘बोल्ड’ फोटोसुट गर्नु भएको रै’छ नि ?

हजुर, अलिअलि । यो क्षेत्र नै ग्ल्यामरस भएकाले बोल्ड हुनु आवश्यक छ । ‘बोल्ड’ भन्दैमा समाजले पचाउन नसक्ने हुनु भएन । अहिलेको समयअनुसार ‘बोल्ड’ हुनुपर्छ । मलाई ग्ल्यामरस लुक्स मनपर्छ ।

‘बोल्ड अभिनेत्री’का लागि प्रस्ताव आयो भने स्वीकार्नुहुन्छ ?

अवश्य पनि । मलाई ग्ल्यामरस मनपर्छ । तर, कस्तो किसिमको बोल्ड हो, त्यहीअनुसार हुन्छ । बोल्ड भन्दैमा समाजले नै नपच्ने गर्नु हुँदैन । हट लिमिट हुनुपर्छ ।

तपाइँको बुझाइमा ग्ल्यामरस के हो ?

ग्यामरस आर्कषण हो । यो आ–आफ्नो हेराइमा भरपर्छ । हिँडाइ, खुवाइ, लगाइमा मात्र नभएर बोलीचालीमा फ्रेण्डली पनि ग्ल्यामरस हो ।

‘बोल्ड’ बनेर बाटोमा हिँड्दा केटाहरु कतिको जिस्काउँछन् ?

एउटी केटी मान्छेलाई जिस्काउनु सामान्य हो । तर, म वास्ता नगरी हिँड्छु । जिस्किँदैमा रिसाइहाल्नु पनि भएन । दायाँवायाँ नहेरी आफ्नो बाटो सरासर हिँड्ने हो ।

प्रेम प्रस्ताव राख्नेहरु कतिको पछि लाग्छन् ?

स्कुल लेभलसम्म सिम्पल थिएँ । त्यो बेला पढाइमै ध्यान हुन्थ्यो । एसएलसी सकेर मोडलिङमा लागेपछि चाहिँ मान्छेहरुले आँखा लगाउन थाले । तर, मलाई अरुहरुको रिलेशन देखेरै वाक्क लाग्छ ।

अहिले सिंगल हो कि अफेयर्समा ?

सिंगल त भन्न मिल्दैन । साथीहरु छन् । मलाई कसैको अधिनमा बस्न मनपर्दैन । म ‘फ्रिडम’ चाहन्छु । त्यसैले सुरुमै सबै कुरा शेयर गरेरमात्र साथी बनाउँछु । अहिले मेरो करिअर बनाउने समय हो । यसैमा केन्द्रित छु ।

प्रतिक्रिया दिनुहोस्