Logo
Logo

‘प्रङ्ना’ निर्मात्री छिमी भन्छिन्, ‘भाषाकै कारण हामी पछि भयौँ’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ फागुन । गायिका तथा फिल्म निर्मात्री छिमी मम्बा तामाङले आदिवासी फिल्मलाई पनि राज्यले हेर्नु पर्ने माग गरेकी छन् । ‘सिङला माने’ र ‘प्रङ्ना’जस्तो तामाङभाषी तथा संस्कृतिकमूलक फिल्मकी निर्मात्री छिमीले भनिन्, ‘आदिवासी फिल्महरु भाषाकै कारण सिनेमा हलमा स्थान दिइँदैन । यसमा राज्यको पनि हात छ । राज्यले चाहेमा भाषिक फिल्मले पक्कै हलमा स्थान पाउने थियो ।’
छिमी निर्मित फिल्म ‘प्रङ्ना’ प्रदर्शनको तयारीमा छ । तर, उक्त फिल्म सिनेमा हलमा आउने निश्चित छैन किनकि भाषिक फिल्म भएकै कारण सिनेमा हलहरुले रिक्स मोल्न चाहँदैनन् । तर, राज्यले आदिवासी फिल्मका लागि नीति नै बनाएमा भाषिक फिल्मले पनि हल पाउने छिमीको भनाइ छ ।
फिल्म ‘प्रङ्ना’मा महिला शसक्तिकरणको आवाज उठाएको छिमीले बताइन् । उनले भनिन्, ‘फिल्ममा महिला बेचबिखनको विषय उठाएकी छु । जसमा अशिक्षित मात्र नभएर शिक्षित महिलाहरु समेत मुम्बईमा बेचिँदै आएका छन् । त्यो किन भन्ने विषय फिल्म प्रङ्नामा उठाएकी छु ।’
‘म्हेन्दोमाया गायिका’का रुपमा परिचित छिमीले आफ्नो भाषा, संस्कृति र रहनसहनलाई प्रवद्र्धन गर्ने उद्देश्यले फिल्म निर्माणमा हात हालेकी बताइन् । ‘फिल्म भनेको प्रभावकारी मिडिया हो’ उनले भनिन्, ‘श्रव्य दृश्यसहित भएकाले पनि फिल्ममार्फत कला, संस्कृतिको प्रवद्र्धन गर्न सजिलो र प्रभावकारी हुन्छ ।’
‘सिङ्ला माने’ निर्माणपछि दर्शकको हौसला र मायाले फिल्म क्षेत्रसँग नजिकिए छिमीले भनिन्, ‘आफ्नो कला, संस्कृति र भाषाको प्रवद्र्धन गर्ने हेतुले फिल्म बनाएकै कारण पहिलोपटक नै दर्शकको माया बटुल्न सफल भएँ । त्यसपछि नै ‘प्रङ्ना’ बनाएकी हुँ ।’ फिल्म ‘प्रङ्ना’को राजधानीमा च्यारिटी शो समेत गरिसकेकी छन् । च्यारिटीबाट राम्रो प्रतिक्रिया पाएको भन्दै उनले भनिन्, ‘अब धादिङ र विदेशमा पनि च्यारिटी गर्दैछु ।’ उनले कोरिया, युके, अ‍ेमेरिका, अष्ट्रेलियालगायतका देशमा ‘प्रङ्ना’को च्यारिटी शोका लागि निश्चित भइसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्