Logo
Logo

सरकारको काम सन्तोषजनक छ : मुख्यमन्त्री भट्ट


- दृष्टि न्युज/संवाददाता


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक वर्षको अवधिमा प्रदेश सरकारको काम सन्तोषजनक रहेको बताउनुभएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एक वर्षको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्न र कानूनहरु निर्माण मुख्य उपलब्धि भएको बताउनुभयो ।

मुलुक नयाँ सङ्घीय संरचनामा गएपछिको अवस्थामा देखिएका विभिन्न समस्याका बाबजुद सरकारका काम सन्तोषजनक रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारका उपलब्धिसम्बन्धी विवरणमा संविधानको कार्यान्वयन र सङ्घीयता संस्थागत गर्न एक हदसम्म सफलता मिलेको उल्लेख गरिएको छ । आवश्यक कानूनहरु निर्माण गर्नु, प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्नु, जनगुनासो सुन्न तथा सम्बोधन गर्न हेलो सिएम कार्यक्रम शुरु गर्नु एक वर्षको अवधिमा गरिएका मुख्य कामका रुपमा प्रदेश सरकारले लिएको छ ।

रोजगारीका लागि भारत जाने नेपालीको अभिलेख राख्ने तथा सीमामा आवतजावत सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको, प्रदेशका सबै जिल्लाका एक–एक सडकलाई प्रदेश गौरवका सडक घोषणा गरेर डिपिआर निर्माणलाई अगाडि बढाइएको, मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयनतर्फ गएको, प्रदेश योजना आयोग र विद्युत् विकास बोर्ड गठनको प्रक्रिया अगाडि बढेको, प्रदेशका ८८ वटै स्थानीय तहमा सुपथ मूल्य पसल सञ्चालनका लागि कार्यविधि निर्माण भइरहेको र प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा एम्बुलेन्स सेवा शुरु गर्न खरीद प्रक्रिया अगाडि बढाइएको जस्ता कामलाई प्रदेश सरकारले उपलब्धिका रुपमा व्याख्या गरेको छ ।

प्रदेश सरकारले पहिलो वर्षलाई कानून निर्माण वर्षका रुपमा लिएबमोजिम यो अवधिमा १७ वटा कानून निर्माण भई लागू भएका चार वटा कानूनको मस्यौदा संसद्मा छलफलमा रहेका, २२ वटा कानूनका मस्यौदा निर्माणको चरणमा रहेको, चार वटा नियमावली र २५ वटा कार्यविधि निर्माण गरेर पारित गर्नु पनि सरकारले आफ्नो उपलब्धि मानेको छ । प्रदेश सरकारका मन्त्री, केही प्रदेशसभा सदस्य, प्रमुख सचिवलगायतको उपस्थितिमा मुख्यमन्त्री भट्टले सरकारका उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्