Logo
Logo

पटक–पटक म्याद थप्दासमेत बनेन पुल


- दृष्टि न्युज/संवाददाता


खोटाङ, ६ फागुन । खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको तेस्रो पटक थपिएको म्याद सकिँदासमेत सकिएको छैन । सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन ।
दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन । पुल तयार भए पनि पुलको वारी र पारी सडकसँग नजोडिँदा दिक्तेल–गाईघाट ओहोर दोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न बाध्य छन् ।
पुल निर्माणको काम करीब दुई प्रतिशत मात्र बाँकी रहेकाले चाँडै पुल सञ्चालनमा आउने निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए । ‘निर्माणाधीन पुलको रङ्ग रोगन र साइड क्लियरेन्सको काम मात्र बाँकी छ’ उनले भने, ‘पुल सञ्चालनमा आउन अब धेरै समय लाग्दैन । चाँडै सम्पन्न गरेर उद्घाटन गर्ने तयारीमा लागेका छौँ ।’

ठेकेदारको ढिलासुस्तीमाथि ढलानका लागि जडान गरिएको फलामे टसल (टेको) २०७४ साल वैशाख ६ गते र २०७५ साल वैशाख ४ गते आएको बाढीले बगाउँदा पुलको काम अनपेक्षित पछाडि धकेलिएको स्थानीयको आरोप छ । करीब रु छ करोडको लागतमा १८ महिनाभित्र पूरा गर्नेगरी २०७१ सालमा सम्झौता भएको पुलको पटक–पटक म्याद गुज्रँदा पनि निर्माणको काम पूरा नहुँदा जिल्लावासी आक्रोशित छन् ।

प्रतिक्रिया दिनुहोस्