Logo
Logo

प्रहरी बढुवाले परिवारमै कलह ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीको एसएसपी र एसपी बढुवा सिफारिसउपर कुनै उजुरी नपरेपछि फुली लगाउने तयारी भइरहेको छ । बढुवामा उजुरी नपर्नुको अर्थ बढुवा एकदमै राम्रो भयो भन्ने होइन । उजुरी गरेर पनि कुनै न्याय नपाइनुले हो । बढुवा निकै विवादास्पद भए पनि अन्यायको सुनुवाई नहुने भएकाले उजुरी नपरेको हो । कतिपयले यो पटकको बढुवालाई इतिहासमै खराब भनेका छन् ।

एसपीबाट एसएसपी बढुवामा केही व्यक्ति तलमाथि परे, अधिकांश राम्रा अधिकारीहरु बढुवामा समेटिएका छन् । एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिए पनि बढुवामा उनीभन्दा सक्षम अधिकृतहरुसमेत छुटेका छन् । १५ रिक्त पदमा ३१ जनालाई बढुवा गर्न सम्भव थिएन ।
तर, एसपी बढुवामा भने संगठनको मूल्य मान्यतालाई भत्काउने काम भएको छ । सेनामा फास्ट ट्रयाक बढुवा प्रणाली जस्तै नेपाल प्रहरीमा पनि जुनियर ब्याचलाई पहिला बढुवा गरेर चेन अफ कमाण्ड ध्वस्त बनाउने परिपाटी सुरु भएको छ ।
२५ जना एसपीको बढुवामा १२ जना नयाँ टोलीबाट छन् । जबकि पुरानो ब्याचका आठ जना छुटेका छन् । जसमा कतिपय इमान्दार र सक्षम अधिकृतहरुलाई समेत संगठनले ठूलो अन्याय गरेको चर्चा प्रहरी संगठनमा छ ।
बढुवाले परिवारमै समस्या ल्याउने अवस्था समेत देखिएको छ । जस्तो कि अमरेन्द्रकुमार सिंह र रञ्जु सिग्देल श्रीमान श्रीमती हुन् । उनीहरु ब्याची पनि हुन् । यसपटकको बढुवामा अमरेन्द्र बढुवामा छुटे भने रञ्जु बढुवा भएकी छिन् । यसले उनीहरुको परिवारमै समस्या भएको छ । आफू चाहिँ किन बढुवा भइनँ भनेर आफन्तलाई जवाफ दिएर हिंड्नुपर्ने अवस्था अमरेन्द्रको छ । अमरेन्द्र संगठनमा निकै इमान्दार र भलाद्मी अफिसरका रुपमा चिनिन्छन् । सोही टोलीका ब्याच टपर भुवनेश्वर तिवारी, ऋषि कँडेल जस्ता अधिकारी समेत बढुवामा छुटेका छन् ।
उता डिआईजी बढुवा भने अझै रोकिने देखिएको छ । शक्तिशाली जुनियर एसएसपीहरुको चलखेलका कारण बढुवा रोकिएको हो ।
त्यस्तै इन्सपेक्टरबाट डिएसपी बढुवामा पनि शक्तिकेन्द्रमा दौडधुप बढेको छ । डीएसपीका ६५ पद रिक्त छन् । जसमा एक सय भन्दा धेरै इन्सपेक्टर प्रतिस्पर्धामा छन् । २०६४ सालको ब्याचका इन्सपेक्टरहरु बढुवाको दौडधुपमा छन् । प्रधानमन्त्रीको पिएसओमा खटिएका हरि खतिवडा ब्याचमा अगाडि आउने दाउमा छन् भने केही जुनियर इन्स्पेक्टहरु समेत दौडधुपमा लागेका छन् । एसएसपी र एसपी बढुवामा आईजीपी भन्दा शक्तिकेन्द्रहरु हावी भएपछि इन्स्पेक्टर बढुवा समेत त्यसको असर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्