Logo
Logo
संस्मरण

छोटो यात्रा : तीतो अनुभव


कृष्णमणि पराजुली


स्वभावैले मानिस विवेकशील र उत्कृष्ट प्राणी हो । त्यसैले ऊ जहिले पनि आफूलाई मनपर्ने काम गर्न उत्साहित भएको हुन्छ र नयाँ–नयाँ विचार लिएर नयाँ गन्तव्यको खोजी गरेको हुन्छ । यसै सन्दर्भमा मलाई पनि आफ्नो जन्मथलो लमजुङ भ्रमण गर्ने इच्छा जाग्यो । अहिले त्यहाँ के कस्तो परिवर्तन आयो होला, गाउँले जीवनमा अहिलेको विकासले के–कस्ता परिवर्तन ल्यायो होला भन्ने कौतुहल मनमा जाग्यो र त्यसतर्फ जाने निर्णय गरेँ ।

त्यहाँ जानका लागि पहिलो कुरा त यातायातको बारेमा जानकारी लिनु नै थियो । यसका लागि अघिल्लो दिन म काठमाडाँैको नयाँ बसपार्क गएँ । कुन समयमा बस प्रस्थान गर्छ भन्ने जानकारी लिनु आवश्यक थियो । टिकट वितरण गर्ने काउण्टरमा एक जना मानिस रहेछन् । उनी मोबाइल र इन्टरनेटमा व्यस्त देखिन्थे । मैले सोधेको कुरामा उनको ध्यानै गएन ।

धेरैपटकको सोधनीपछि बल्ल–बल्ल भोलिका लागि भोलि नै हुन्छ भने । त्यतिले मात्र मेरो प्रश्नको जवाफ पुग्दैनथ्यो । कुन बेला बस जान्छ भन्ने कुरा बाँकी नै थियो । धेरै प्रयासपछि उनले मन नलागी–नलागी ७ः३० बजे भने । त्यो ७ः३० बजे आइपुग्ने समय हो कि बस छुट्ने समय हो यकिन हुन सकेन ।

उनीसँग धेरै कुरा सोध्न मन लागेन, किनकि उनी पूर्ण जानकारी गराउने मनस्थितिमा नभएको कुरा उनको आकृतिले नै स्पष्ट बनाएको थियो । ७ः३० बजे नै बस छुट्ने समय रहेछ । पछि बसपार्क पुगेपछि थाहा भयो ।

भोलिपल्ट त्यही समयमा बसपार्क गएँ । टिकट काटेँ । म उमेरले पाको भएकाले अगाडिको झ्यालपट्टिको सिटको लागि अनुरोध गरेँ । अगाडि छैन, झ्यालका लागि पछाडि मात्र छ भने । मैले हुन्छ भनेपछि उनले पछाडिपट्टिको झ्यालतिरको सिटको टिकट मिलाइदिए । यसपछि पुनः मैले ज्येष्ठ नागरिकको सुविधाका लागि अनुरोध गरेँ ।

सुविधा–सुविधा केही छैन भन्ने रुखो उत्तर दिए । मनमा केही खल्लो अनुभव भए पनि टिकट लिएर बसभित्र गएँ । बसमा यात्रु आ–आफ्नै किसिमबाट बसेका थिए । कारण टिकटमा सिट नम्बर लेखिए पनि बसमा भने सिट नम्बर लेखिएको थिएन । मैले भनेपछि झमेला आइपर्छ भनेर सिट गन्दै आफ्नै सिट नम्बरमा गएर बसेँ ।

बस करिब–करिब समयमानै गुड्यो । एक डेड घण्टासम्म पनि सिट भरिएका थिएनन् । अगाडिको झ्यालको सिट खाली नै थियो । तैपनि मलाई छैन भनेर किन भने प्रश्न अनुत्तिरै रह्यो ।

बसभित्रका सबै यात्रुले मास्क लगाएका थिए । तर, कन्डक्टर र चालकले भने लगाएका थिएनन् । बाटोमा चढ्ने यात्रुहरु अधिकांशले पनि मास्क लगाएका थिएनन् । म सँगैको खाली सिटमा एकजना आएर बसे । उनीले मास्क लगाएका थिएनन् ।

मैलै उनलाई मास्क लगाउन अनुरोध गरेँ । छैन भनेपछि मैले मास्क दिएँ । त्यसैगरी अन्य व्यक्ति पनि चढे । कसैले पनि मास्क लगाएका थिएनन् । बरु यात्रुले नै नभएकाहरुलाई मास्क बाँडेका थिए । चालक, कनडक्टर आफैँले मास्क नलगाएका हुँदा यात्रुलाई दिने कुरै भएन ।
०००

पृथ्वीराजमार्ग हुँदै बस गुडिरहेको थियो । बस गुडिरहँदा अन्य कुराभन्दा मलाई भने बस व्यवस्थापनको विषयले टाउको दुखाएको थियो । अहिलेको कोभिड–१९ को यति ठूलो संक्रमणले निम्त्याएका विभिन्न प्रभावबारे न त यात्रु नै सचेत देखिए, न त सरकार नै ।

यात्रुलाई मास्क अनिवार्य गरिदिएको भए, जोखिम नियन्त्रण हुने थियो । त्यसैगरी कन्डक्टर तथा चालकले आफूले पनि मास्क लगाउने र यात्रुले पनि अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिदिएको भए कति राम्रो हुने थियो । खै त्यसतर्फ बस व्यवस्थापनको ध्यान पुगेको ?

भ्रमणको सिलसिलामा ठाउँठाउँमा प्रहरीबाट सुरक्षा चेकजाँच हुन्थ्यो । मास्क लगाएर मात्र यात्रा गर्नुपर्छ भन्नेबारे उनीहरुले कहीँ पनि प्रश्न उठाएनन् । सरकार भन्छ, पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर मात्र यातायात सञ्चालन गर्नुपर्छ । तर, हामी नागरिक, बस व्यवसायी र सरकार सबैबाट लापरबाही भइरहेछ ।

अनि किन कोभिड–१९ ले आक्रामक रुप लिँदैन त ? यसमा मुख्य उदासिनता सरकारको रहेको देखिनु स्वभाविकै हो । सरकार भनेको जनताको संरक्षक हो । किन सरकार कोभिड नियन्त्रणको लागि अनुगमन गर्न सक्दैन ?
०००

छोटो यात्राले त यति ठूलो बिनास देख्यो भने देशका दुर्गम स्थानहरुमा कति बिनास भएको होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले मेरो यात्रामा मलाई लागेको कुरा के हो भने विकास भएर पनि विकास नभएको देश नेपाल नै होला ।

अहिले पृथ्वी राजमार्गमा धेरै सुधार भएको देखिन्छ । यात्रुलाई त्यति असहज भएको देखिँदैन । धेरै सवारी साधन चल्ने भएकाले पनि सहज र सुलभ भएको हुन सक्दछ । जे भए पनि नदीको किनारैकिनार सरर गुड्न पाउँदा यात्रा रमणीय थियो ।

यात्रा राम्रो भए पनि बाहिरको वातावरणले भने यात्रुहरुको मन नरमाइलो बनाउँथ्यो नै । बसबाट बाहिर हेर्दा सुख्खा डाँडाकाँडा सबै उराठ लाग्दा देखिन्थे । त्यही उराठ लाग्दा डाँडाकाँडामा काँक्रा चिरेकाजस्ता सडकहरु देखिन्थे ।

मलाई लाग्यो डोजरे विकास भनेको यही रहेछ । मानिसको कतै पनि आवादी नभएको ठाउँमा पनि किन यसरी धर्तीको नास गरिरहेका होलान् जस्तो लाग्यो । लागेर पनि के गर्नु ? एउटा यात्रुले मनमा लिने कुरो मात्र थियो । केही वर्षअघि मैले अनुसन्धानको सिलसिलामा बाहिर जिल्लामा पनि यस्तै जता हेर्यो उतै सडकै सडक देखेको थिएँ ।

किन अनावश्यक ठाउँमा सडक निर्माण भइरहेछ भन्ने जिज्ञासा पालिकाका प्रमुखहरुसँग पनि राखेको थिएँ । भोटको लागि भए पनि हामीले सडक पुर्याउनुपर्ने भएकाले यस्तो गर्नुपर्ने बाध्यता उनीहरुको रहेछ ।

सडक पुर्याउन नसके पनि अलिअलि गरेर शुरु नगरे उनीहरुको लागि ठूलो घाटा हुँदोरहेछ । अर्थात्, भोट नआउने हुँदोरहेछ । यसरी बनेका सडकहरुको न त सम्भाव्यता अध्ययन गरिन्छ, न त लाभान्वित वर्गलाई ध्यान दिइएको हुन्छ । यस प्रकारले हाम्रो सीमित स्रोत र साधनको दुरुपयोग भएको कुरा मनमा राख्दाराख्दै बस भने धेरै अघि गइसकेको रहेछ ।

यहाँ जोड्न खोजिएको विषय भनेको विकास गर्ने नाममा हामीले विनाशलाई निम्त्याइ त रहेका छैनौ ? गाउँपालिकाहरुलाई विनियोजित बजेट जसरी भए पनि खर्च गर्नु छ । दुई चारवटा घर भएका ठाउँहरुमा पनि आँगनमै सडक पुर्याउनुपरेको छ । स्थानीय जनप्रतिनिधिलाई आफ्नो डोजर र गाडीलाई प्रयोग गरेर आम्दानी गर्नुपरेको छ ।

यस किसिमको परिपाटीले कसरी विकास ल्याउन सक्छ र ? हिउँदमा बाटो खनेर धुलाम्मे बनायो, वर्षामा सबै माटो बगेर पहिरो जाने भई नै हाल्यो । सडक बन्नुभन्दा भएको बाटो पनि बिग्रिएको स्थिति देखिएकै छ । हामी पिंधका मान्छेले बुझेको र देखेको विकास भनेको यही नै त हो ।

यही यथार्थता पृथ्वी राजमार्गमा देखिन्छ । प्रकृतिले उपलब्ध गराइएका सम्पदा विनासउन्मुख देखिँदै गएका छन् । भिरपाखामा अनावश्यक सडक निर्माणले जमिनको भूबनोट नै विकृत भएका देखिन्छन् । अलिअलि भएका बोट बिरुवा पनि नासिदै र मासिदै छन् ।

नदी किनारका दृश्य रमणीय हुनुपर्नेमा उराठलाग्दा र मनै खिन्न पार्ने देखिन्छन् । कुनै पनि यात्रुको मन यी दृश्यले चसक्क घोचेकै हुन्छ । यस्तो विकासलाई कसरी विकास भन्न सकिएला ? भौतिक प्रगतिमा विनियोजित बजेट सबै खर्च भएको होला र उपलब्धि पनि लक्ष्यअनुरुप नै होला ।तर, जनवीवनमा के कस्तो प्रभाव पारेका छ भन्ने कुरा खै मूल्यांकन हुनसकेको ? खर्च हुँदैमा प्रगति भएको भन्न सकिँदैन । प्रगति त्यो हो जसले विकास दिएको हुन्छ । जनताले चाहेको विकास त्यस्तो हुनै सक्दैन ।

पृथ्वी राजमार्गको दायाँबायाँको निर्माणकार्य हेर्दा बालुवामा पानी हालेजस्तो देखिन्छ । उपयोगविहीन निर्माणकार्यले सीमित स्रोत र साधनको अपब्यय मात्र हुने हो । यात्रा गर्र्दै जाँदा कतिपय ठाउँमा एक डेढ किलोमिटरभित्र पारी जानको लागि दुईवटा पक्की पूल निर्माण गरिएका पनि देखिन्छन् ।

अहिलेको अवस्थालाई मध्यनजर गर्दा यी पूलहरुको औचित्य छ कि छैन विचार गर्नुपर्ने हुन आउँछ । अनावश्यक ठाउँमा गरिएको यो लगानीलाई अन्य आवश्यक ठाउँमा गरिएको भए कति राम्रो हुने थियो होला । सरकारले तुइनविहीन बनाउने भने पनि अझसम्म सबै ठाउँबाट तुइन विस्थापित गर्न सकिएको छैन ।

तुइनमा चढेर नदी वारपार गर्दा कतिपय साना कलिला नानीहरुको मृत्यु भएका खबरहरु संचार माध्यममा आइनैरहेका छन् । जो कोहीलाई पनि पृथ्वी राजमार्गको यात्राले चस्स मन पोल्छ नै । यात्रामा देखिने विकास निर्माणका कार्यहरु विकासमूलक छंदै छैनन् । केवल खर्चमाथि खर्च थोपर्ने प्रकृतिका देखिन्छन् ।

पृथ्वी राजमार्गको मेरो छोटो यात्राले त यति ठूलो बिनास देख्यो भने देशका दुर्गम स्थानहरुमा कति बिनास भएको होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले मेरो यात्रामा मलाई लागेको कुरा के हो भने विकास भएर पनि विकास नभएको देश नेपाल नै होला । यिनै कुरा मन्मा खेलाउँदै खेलाउँदै आफ्नो गन्तव्यमा पुगेँ ।

प्रतिक्रिया दिनुहोस्