Logo
Logo

सचिवालय बैठक तत्काल बोलाउन ओली–प्रचण्डसँग बामदेवको माग


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् । नेता गौतमले प्रेस विज्ञप्ती जारी गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

 

प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न गौतमले बैठक बोलाउन आवश्यक रहेको उल्लेख गरेका छन् । गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’

गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला नगरी पदबाट राजीनामा दिन पनि आग्रह गरेका छन् ।


सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको फैसलालाई गौतमले ऐतिहासिक भएको उल्लेख गरेका छन्। संसद विघटन बदर भएको दिनलाई उनले निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिनको रुपमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्