Logo
Logo

चिकित्सकको राजनीतिक यात्रा


श्याम रिमाल



सबैसँग भेट हुँदा ‘अरुण भएसम्म मलाई केही हुन्न’ भन्थे, अरुण, नेपालमा नभएकै बेला उनले प्राण छाडे । ‘गंकी’ उपन्यास लेख्दाताका विजय मल्लसँग उनको बाजी परेको रहेछ । टोलछिमेककै एक महिलालाई देखाएर मल्ल भन्थे, ‘म तिनका बारे उपन्यास लेख्छु ।’ उनी पनि भन्थे, ‘मै पहिले लेख्छु ।’ आखिर पन्ध्र दिनमा उनैले बाजी मारे र कृतिलाई लोकप्रिय बनाइदिए । राजा वीरेन्द्रलाई दास र लाशले घेरिएको भनी नागार्जुन दरबारमा कविता सुनाउन पाएको, रानी ऐश्वर्यलाई पढाउन पाएको र गंकीले लोकप्रियता पाएको घटना नै उनलाई आत्मसन्तुष्टिको कुरा थियो । उनी अर्थात् धुस्वाँ सायमी–प्राध्यापक, प्राज्ञ, नेवारी उपन्यासकार, कवि, सांस्कृतिक सहचारी अनि उदार, रोमान्टिक । उनकै छोरा डा अरुण सायमी–चिकित्सक, प्राध्यापक, साहित्यकार अनि राजनीतिक विश्लेषक । डा सायमी आफैँ एउटा परिचय बनेका छन्, बाबुबाट चिनाउनुपर्ने होइनन् । तथापि, नेपाली प्राज्ञिक जगत्मा एउटा बेग्लै छाप भएका धुस्वाँलाई बिर्सन सकिँदैन । पुर्खा राजदरबार निकट भए पनि धुस्वाँ विद्रोही भएर निस्के । राजाकै अगाडि उनलाई व्यङ्ग्य गर्दै कविता सुनाउँथे । डा सायमी पनि लोकतन्त्र र गणतन्त्रका लागि चिकित्सक वेशभूषामै ओर्ले । त्यो निडरताको गुण डाक्टर अरुणले बाबुबाट नै लिए कि ?

बाल्यकालमा ढिलो बोलेको, गणितमा जोेड गर र जम्मा गरको अर्थ खुट्याउन नसकेको तथा खुट्टाको हाड भाँचिएको भए पनि पछि तीक्ष्ण बुद्धिका भई उनी पाइलट बन्न चाहे । तर ज्योतिषीको भनाइलाई साकार पार्नकै लागि धुस्वाँ सांस्कृतिक सहचारी बनेर नयाँदिल्ली पुग्दा उनीकहाँ आउने बिरामीहरुको सङ्गतले अरुणलाई चिकित्सक बनाइदियो ।

डा सायमी आफैँ एउटा परिचय बनेका छन्, बाबुबाट चिनाउनुपर्ने होइनन् । तथापि, नेपाली प्राज्ञिक जगत्मा एउटा बेग्लै छाप भएका धुस्वाँलाई बिर्सन सकिँदैन । पुर्खा राजदरबार निकट भए पनि धुस्वाँ विद्रोही भएर निस्के । राजाकै अगाडि उनलाई व्यङ्ग्य गर्दै कविता सुनाउँथे । डा सायमी पनि लोकतन्त्र र गणतन्त्रका लागि चिकित्सक वेशभूषामै ओर्ले । त्यो निडरताको गुण डाक्टर अरुणले बाबुबाट नै लिए कि ?


तत्कालीन प्रधानमन्त्रीहरु मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, बाबुराम भट्राई, माधवकुमार नेपाल र झलनाथ खनाल, सिके प्रसाईँ, मोहनविक्रम सिंह, नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई र शेरबहादुर देउवाका आमा, गोविन्द केसी, शान्तदास मानन्धर आदिको उपचार गर्न पाएका डा सायमीले मनमोहन कार्डियोथोरासिक भास्कूलर तथा ट्रान्सप्लाण्ट सेण्टर र शहीद गङ्गालाल हृदय केन्द्रका संस्थापक पनि हुन् । चिकित्साशास्त्र अध्ययन संस्थानको डिन भएका कुरादेखि आफैँ डिन हुँदा म्याद नथप्दा केसी अनशन बसेको, एमबिबिएस परीक्षामा ढुङ्गामुढा भएको जस्ता विषय त छँदैछन् । अधिकारी प्रधानमन्त्री हुँदाको हवाई दुर्घटना र उनीविरुद्ध संसद्मा अविश्वास प्रस्तावजस्ता बिर्सन नसकिने घटना रोचक छ । छयालीस र २०६२–०६३ का जनान्दोलन र तिनमा चिकित्सकहरुले गरेको आन्दोलनले आन्दोलन अझ निर्णायक बनेको जस्ता पक्ष पनि कृतिमा आएको छ । यिनी मनमोहन सरकार र प्रचण्ड सरकार दुवैको चिकित्सक हुन पाउनु एउटा संयोग नै थियो । डा सायमी नेकपाको सदस्यधारी पनि होइनन्, तर चिनिन्छन् कम्युनिष्टका प्रमुख डाक्टर भनेर । उपचार त यिनले गिरिजाप्रसाद र सिके प्रसाईँ र अन्य काँग्रेसी नेताको पनि गरे । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक कृष्णमोहनदेखि महायज्ञ वाचक नारायण पोखरेल, शम्भुजीत बाँस्कोटा आदिसम्मलाई मित्र बनाउन भ्याएका छन् लेखकले । लेखहरुबाट ‘जनयुद्ध’लाई सघाए पनि तर हिंसाको खुलेरै विरोध गर्थे । उमेर यिनको जम्मा उमेर ६१ तर पनि ‘मेरो जीवन–कथा’(गंकी धुस्वाँ वसुन्धरा प्रतिष्ठान, २०७५) प्रकाशनमा ल्याए, प्रधानमन्त्री केपी शर्मा ओलीबाट विमोचन गराए र गाली पनि खाए आत्मकथा छिट्टै प्रकाशन गरेकामा ।
उनका गीत र कविता तथा उपन्यासले पाठकलाई त्यति नताने पनि कडा खालका राजनीतिक लेखहरु भने पठनीय छन् । तथ्यगत र भाषागत अशुद्धि छँदैछन् भने मिति कहीँ विसं र कहीँ इस्वी दिनाले एकरुपता देखिँदैन । अझ आत्मकथा भनिएको कृतिमा आफू र आफ्नो कृतिसँग सम्बन्धित केही लेखकका लेख र गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानका खिच्रिङमिच्रि सामग्री राख्नाले कृतिको रुप बिग्रेको छ । दुई सय ५२ पेजमा ४५ भन्दा बढी पेज त तस्वीरहरु नै छन् । सम्पादन पक्ष कमजोर छ । राजनीतिक इतिहास, साहित्य–सङ्गीत तथा चिकित्सा क्षेत्रमा रुचि राख्नेले कृति एक पल्ट पढेमा समय खेर जाँदैन ।
[email protected]

प्रतिक्रिया दिनुहोस्