Logo
Logo

भागिरथी हत्याको सफल अनुसन्धानः डिआइजीसहित सात प्रहरी पुरस्कृत


दृष्टि संवाददाता


काठमाडौं, १२ फागुन ।
बैतडीकी किशोरी भागिरथी भट्टको बलात्कारपछि हत्या घटनाको सफल अनुसन्धान गर्ने प्रहरी पुरस्कृत भएका छन् ।
आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गर्ने २ जना प्रहरी कर्मचारीहरु एक तह पदोन्नति भएको र अन्य ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् ।


उत्कृष्ट कार्य गर्ने सुदूरपश्चि म प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक पदम बहादुर थापा प्रहरी नायव निरीक्षकमा र ईलाका प्रहरी कार्यालय राजापुर बर्दिया दरबन्दीका प्रहरी जवान नर बहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् । कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह माथिल्लो पदमा पदोन्नति गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उत्कृष्ट काम गर्नेहरुको मनोबल बढाउन यसरी तत्कालै पुरस्कार दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरुमध्ये प्रहरी नायव निरीक्षक पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटना, कैलाली धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द वि.क. तथा प्रहरी जवान रामबहादुर साउँदलाई तस्करहरुको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका–१ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न अहम भूमिका निर्वाह गरेका थिउ । साथै प्रहरी हवल्दार नर बहादुर थापाले उपरोक्त तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
साथै बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदारी एवं निष्ठाका साथ प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् ।
नगद पुरस्कारद्वारा पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा सुदूरपश्चिीम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्च कुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन् ।
उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरुको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उहाँहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्