Logo
Logo

नेपथ्यमा संघर्षरत विक्रम


प्रदीपराज दाहाल


काठमाडौं । आजभन्दा ९ वर्ष अगाडि सन २०१२ मा खोजिएका गायन प्रतिभा हुन्, विक्रम लिम्बू । सिङ्गिङ रियालिटी शो ‘खोजी प्रतिभा’बाट खोजिएका बिक्रमलाई आज पनि खोज्नु पर्ने भएको छ ।

विक्रम सन २०१२ को ‘खोजी प्रतिभा’का विजेता हुन् । त्यो समयको लोकप्रिय कार्यक्रममार्फत नेपाली संगीत दुनियाँमा उदाएका विक्रम स्रोता दर्शकको मनमुटुमा थिए । तर, आज उनै विक्रम नेपथ्यमा छन् । त्यसैले त स्रोता दर्शक फेरी एक पटक विक्रमलाई खोज्दैछन् ।

०००

कक्षा १२ को परीक्षा छोडेर काठमाडौं हान्निएका थिए, विक्रम । सयौं प्रतिस्पर्थीलाई उछिँदै उपाधि जिते । सयौंलाई जितेका विक्रमले सायद समयलाई पछ्याउन सकेनन् या समयसँगै दौडन चाहेनन् । त्यसैले त आज खोजी प्रतिभाका हँसिला विक्रमको मुस्कान नेपाली स्रोता दर्शकले हराएको महसुस गर्दैछन् । तर, नेपथ्यबाट पनि विक्रमको संघर्ष निरन्तर छ ।

उत्साहमय त्यो विगतलाई अहिले पनि उर्जाको रुपमा लिँदैछन् । विक्रम विगत सम्झन्छन्– ‘धरानमा गीत सिकिरहेको थिएँ । त्यतिखेर मेरो परीक्षा पनि चलिरहेको थियो । बुबालाई नभन्नु भन्दै आमालाई फकाएर काठमाडौं आइपुगेँ । प्रतियोगिता पनि जितेँ ।’

०००

उपाधि जितेपछि विक्रमले जुन चर्चा पाए त्यो निरन्तर रहन सकेन । उनले त्यो उपाधिलाई अवसरको रुपमा सदुपयोग गर्न नसक्नुमा दुई कारण छन् । कम उमेरमा पाएको सफलतासँगै आएको उन्माद र चर्चा परिचर्चा मन नपराउने स्वभाव कारण हुन् ।

विक्रम भन्छन्– ‘कलिलै थिएँ, ज्ञान छिपेकै थिएन । त्यो समय उपाधि जितेको उन्माद थियो । त्यो उन्मादले पनि मलाई रोक्यो जस्तो लाग्छ ।’ विक्रम थप्छन्– ‘मेरो स्वभाव पनि त्यस्तै छ ।

मलाई धेरै चर्चा मन पर्दैन । बजारमा जति काम गरे पनि होहल्ला नगरेसम्म केही नहुने रहेछ । होहल्ला गर्न नजानेको÷नचाहेको कारण पनि विक्रम हराएको स्रोता दर्शकले महसुस गरेका हुन् ।’

०००

विक्रम वर्तमान लाइमलाइट देखेर छक्क पर्छन् । अहिलेको जस्तो चर्चामा आउनेबित्तिकै गीत गाउने अफर आउने समय नहुँदा पनि आफू पछाडि परेको हो कि भन्ने उनलाई लागेको छ । त्यसैले उनी नयाँ पुस्ताले फुर्काएको भरमा नभई आफ्नो सोच र समयलाई मिलाएर अघि बढ्नुपर्ने सुझाव दिन्छन् ।

खोजी प्रतिभाको उपाधि जितेको समय आफूलाई कलिलो सम्झने विक्रम आज उमेर र अनुभव दुवैले वयस्क भइसकेका छन् । क्षणभरमा प्राप्त हुने उपलब्धि र उपाधिबारे परिपक्व विचार राख्छन् । भन्छन्– ‘नयाँ पुस्ताले विजेता बनेपछि ठूलो शिखर चुमेको सोच्नु हुँदैन । किनभने बल्ल जीवनको यात्रा अघि बढेको हो । सबै सफलता हासिल गरेको होइन ।’

विक्रम वर्तमान लाइमलाइट देखेर छक्क पनि पर्छन् । अहिलेको जस्तो चर्चामा आउने बित्तिकै गीत गाउने अफर आउने समय नहुँदा पनि आफू पछाडि परेको हो कि भन्ने उनलाई लागेको छ । त्यसैले उनी नयाँ पुस्ताले कसैले फुर्काएको भरमा नभई आफ्नो सोच र समयलाई मिलाएर अघि बढ्नुपर्ने सुझाव दिन्छन् ।

०००

विजेता बनेपछि केही समय त खुशीयालीमा बित्यो । तर, त्यसपछिका दिन सहज रहेन । उपाधि जितेपछि विक्रमप्रति बढेको अपेक्षा र विक्रमको गती मिल्नै सकेन । अपेक्षित रुपमा गीतहरू चल्न सकेनन् ।

गीतहरू नचलेपछि अनेक दबाब बढ्दै गयो । अपेक्षित सफलता नमिल्दा घरबाट विदेश जान दबाब आएको उनी सम्झन्छन्– ‘केही नभएपछि घरबाट पनि गीत संगीत लाइनमा केही छैन । विदेश जा, पैसा कमाउँछस् भनेर दबाब पनि आयो ।’

सयौँलाई पछि पार्दै उपाधि जितेको त्यो स्टार सबथोक माया मारेर सुटुक्कै विदेश भासिन सक्ने अवस्था पक्कै हुँदैन । त्यसैले त विक्रम पारिवारिक दवाव थेगेर स्वदेशमै रहे, संगीतमा भविष्यको बाटो र्कोदैछन् ।

०००

गायन प्रतियोगिता एक्सपोज हुने एउटा अवसर र माध्यम हो । विक्रमको नजरमा यस्तो शोले एकाधबाहेक धेरैलाई गायक बनाउँदैन । ‘रियालिटी शो आफ्नो व्यापार गर्ने सोचले आउँछन् ।

केही गायक भाइरल हुन्छन् । तर, कालान्तरमा उनीहरू रुवा जसरी उडेर जान्छन्,’ विक्रम भन्छन् । पहिलेभन्दा अहिले धेरै प्लेटफर्महरू छन् । यसलाई प्रयोग गर्न सक्ने सोच र सामथ्र्य राख्न सकियो भने अघि बढ्न सकिन्छ ।

उपाधिपछिको करिब एक दशकमा विक्रमले अनेक आरोह–अवरोह पार गरे । नेपथ्यबाट वर्तमान नियाल्दै छन् । क्षणभरमै चर्चित बन्ने क्रेजलाई नजिकबाट नियालिरहेका छन् । र, पाठ सिक्दै छन् । भन्छन्– ‘भाइरल भएर बटुलिने क्रेज क्षणिक हो । चर्चा पाएर आफूलाई केके न भएँ जस्तो त एकछिन मात्र लाग्ने हो । अन्त्यमा त त्यो …को न्यानो मात्र न हो !’

०००

विक्रमलाई न हिजो चर्चित हुने मन थियो न आज नै । हिजो जस्तो शालीन र शान्त थिए आज पनि उस्तै छन् । उनलाई हतार केहि छैन । तर, गीत, संगीत नबुझी क्षणभरमै चर्चित बन्न चाहने जमातका कारण संगीतप्रति वितृष्णा बढेकोप्रति भने उनलाई चिन्ता छ ।

विक्रम अहिले गायनभन्दा पनि संगीत सिर्जनामा अभ्यस्त हुन खोज्दैछन् । पछिल्लो समय केहि गीतमा विक्रमको संगीत सुन्न पाइन्छ । गायन र संगीत सिर्जन सँगै लैजाने सोच बनाएका छन् ।

०००

प्रतिक्रिया दिनुहोस्