Logo
Logo

संघर्षको अर्को नाम सीडी विजय


दृष्टि संवाददाता


काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा चर्चित नाम हो, सीडी विजय अधिकारी । सांगीतिक क्षेत्रमा पहिलादेखि परिचित भएपनि उनी बाहिरी दुनियाँमा भने ‘द भ्वाइस अफ नेपाल’बाट आए ।

‘भ्वाइस अफ नेपाल’ सहभागी हुनुपूर्व सीडी विजयले २५० भन्दा बढी गीत गाइसकेका थिए । उनका गीत रेडियो, टिभीतिर बजिसकेको थियो । तर, बाहिरी दुनियाँमा उनी खासै सुनिएको थिएन । सीडी विजय भन्छन्, ‘मेरो गीत पपुलर थियो, तर म पपुलर थिइनँ ।’

भ्वाइस अफ नेपालको विजेता बनेपछि उनको नाम गीतकार, संगीतकार, गायक/गायिकामाझ मात्रै रहेन । बाहिरी दुनियाँसम्म पुग्यो । उनी भन्छन्, ‘संघर्षको दौडमा भ्वाइस अफ नेपाल भेटें  जसले सिढी चड्न धेरै सहयोग गर्यो । यसलाई म एउटा भर्याङकोे रुपमा लिन्छु ।’

अधिकारीले गायन प्रतियोगितामा प्रभाव जमाएको यो पहिलोपटक भने होइन । उनी त्यसअघि नै पोखरामा भएको ‘विग आईकन’ र काठमाडौंमा भएको ‘खोजी प्रतिभा सिजन–२’को उपविजेता बनिसकेका थिए । तैपनि बाहिरी दुनियाँमा खासै परिचित थिएनन् ।

उनलाई सानैदेखि बजारमा आफ्नो आवाजको व्यापार गर्ने सपना थियो । तर, सपना देख्न जति सजिलो हुन्छ, पूरा गर्न उस्तै गाह्रो । उनले आफ्नो आवाजको व्यापार गर्नका लागि धेरै संघर्ष गर्नुपर्यो । उनी भन्छन्, ‘हरेश नखानु सबैभन्दा महत्वपूर्ण कुरो हो, यसै अठोटका साथ संघर्ष गरेँ, सोही कारण आज यहाँ छु ।’

संगीत संघर्षमै उनले पोखरादेखि दुबई हुँदै काठमाडौंसम्म फन्को मारिसकेका छन् । गीत संगीतमा सानैदेखि उनको लगाव थियो । टोल र स्कुलमा हुने जुनसुकै कार्यक्रमा उनी पुगिहाल्थे । ७ कक्षामा पढ्दै गर्दा नै उनले उपाधिसमेत जितेका थिए । उनको पहिलो उपाधि थियो त्यो ।

उनले त्यहीबेलादेखि सांगीतिक क्षेत्रमा केही गर्छु भन्ने अठोट लिए । उनी भन्छन्, ‘पोखरा आइडल, गण्डकी तार, जहाँ प्रतियोगिता हुन्थ्यो, म स्कुलमा विदा लिएर सरहरुलाई आग्रह गरेर भाग लिन जाँन्थे । कला देखाउनुपर्छ भन्ने लाग्थ्यो ।’

१२ वर्षको उमेरमै सांगीतिक क्षेत्रमा जोडिएका सीडी विजयले आफ्नो अध्ययन र संगीतलाई निरन्तरता दिन दोहोरी साँझमा पनि गाए । ‘विग आइकन’को उपविजेत बनेपछि उनले दोहोरी साँझमा काम पाए ।

खोजी प्रतिभाको बेला पोखराबाट काठमाडौं रात्री बसमा आएर अनिँदो नै गीत गाएर फर्कन्थे । त्योबेला उनको गला सुकेर गाउन नसक्ने अवस्थासम्म पुगेको थिए ।

सीडी विजय भन्छन्, ‘त्यो बेला साँझ ७ बजेबाट राति १२ बजेसम्म दोहोरीमा काम गर्थे, दोहोरीमा गाएर गला सुकेको मान्छे, बिहान उठ्न नपाउँदै चोकचोकमा गाउँदै भोट माग्दै हिँड्थेँ गला सुकेर गाउन नसक्ने अवस्थासम्म पुगेको थिएँ ।’

‘खोजी प्रतिभा’को उपविजेत बनेपछि उनको चर्चा चल्न थाल्यो । तैपनि काठमाडौंसम्म आएर संघर्ष गर्ने उनले आँट गरेनन् । स्टेज कार्यक्रम र रेष्टुरेन्टमा गीत गाएर आफ्नो संगीतिक यात्रालाई निरन्तरता दिइरहे । उनी भन्छन्, ‘आँट थिएन, काठमाडौं आएर गीत संगीतमा होमिएर काम गर्न डर लाग्थ्यो, कसै चिनेको पनि थिइनँ ।’

संगीतमै संघर्ष गरिरहेको बेला ‘भ्वाइस अफ नेपाल’ रियालिटी शो आयो । त्यसमा भाग लिए । उनी विजेता पनि बने । भ्वाइसको उपाधि जितेपनि खाशै आफ्नो सांगीतिक उचाइ नबढेको बताउँदै विजयले भने, ‘केही अवसहरु भने सिर्जना भए ।’

रेष्टुरेन्टमा गीत गाएर आफ्नो संगीतिक यात्रालाई निरन्तरता दिइरहेको बेला उनलाई दुबई जाने अफर आयो । एउटा स्टेज कार्यक्रम गर्ने र रेष्टुरेन्टमा गीत गाउन पाउने भएपछि दुबई जान तयार भए ।

६ महिना त्यसरी नै बिताए । काम विशेषले काठमाडौं आएको बेला संगीतकार प्रेम सागरसँग उनको भेट भयो । उनले गीत गाउन अफर गरे । सीडीले ४ वटा गीत रेकर्ड गराए अनि दुबई फर्किए ।

उनको ‘नशा पिउने बानी भयो’ गीत चर्चित भयो । सीडी विजयको माग हुन थाल्यो । तर, उनी दुबईमै थिए । भन्छन्, ‘त्यो बेला मेरो गीतहरु चलिरहदाँ पनि दुबइमा थिएँ, काम गर्न थुप्रै अफर आएको थियो तर टाढा भएकाले निकै पीडामा दिनहरु बिताएँ ।’

साढे २ वर्षपछि उनी नेपाल फर्किए । त्यसबेला उनलाई डर थियो, ‘मलाई बिर्सिए कि ?’ भन्ने । फर्केर आएपछि जो–जसल उनलाई खोजेको थिए, सबै सम्पर्कमा आए । र, केही गीत गाउने मौका मिल्यो ।

संगीतमै संघर्ष गरिरहेको बेला ‘भ्वाइस अफ नेपाल’ रियालिटी शो आयो । त्यसमा भाग लिए र उनी विजेता बन्न सफल पनि भए । भ्वाइसको उपाधि जितेपनि उचाई खाशै नबढेको बताउँदै सीडी विजय भन्छन्, ‘केही अवसहरु सिर्जना भए ।’

भ्वाइसको एउटा इतिहास रच्न सफल भएकोमा नै आफू सधैँ खुशी हुने उनी बताउँछन् । भन्छन्– ‘भ्वाइसको सिजन वानको उपाधि जित्नु भनेको मेरो सैभाग्यको कुरो हो । अब पनि हरेक सिजनमा विजेता बन्छन् तर पहिलो विजेता भने कोही बन्ने वाला छैनन्, यो एउटा इतिहासको हो, जसले मलाई जीवनभर खुशी दिने छ ।’

भ्वाइसको विजेता भइसकेपछि उनलाई सबैले चिन्न थाले । सिडी विजय भन्छन्, ‘भ्वाइसको विजेता भइसकेपछि पहिला गाएको गीतहरु सेयर गर्दा यो गीत त तपाईंले पो गाउनु भएको हो ? भनेर प्रतिक्रियाहरु आए ।’

भ्वाइसले अलि चाँडै चर्चामा ल्याएको उनी बताउँछन् । भन्छन्, ‘दश वर्षपछि मैले यो समयको स्वाद लिन पाउँथे होला । तर, भ्वाइसले गर्दा अहिले लिइरहेको छु ।’

भ्वाइस जितेपनि अहिले पहिलाकै रेसियोमा कामहरु भइरहको उनी बताउँछन् । भन्छन्, ‘उपाधि जितेपछि बाहिर भ्रमणमा जानुपर्यो, त्यसले गर्दा काममा केही बाधाहरु आए । राम्रोसँग काम गर्न सकिनँ ।’ भ्वाइस यता १०० भन्दा बढी गीत गाएको उनी बताउँछन् ।

अबको योजना
अब नयाँ ‘प्याटन’का सिर्जनाहरु ल्याउने कोसिस् गरिरेहको सीडी विजय बताउँछन् । उनी भन्छन्, ‘शुद्ध आधुनिक गाउनेले नयाँ एउटा आरम्बिक प्याटनमा कन्टेम्प्ररी डान्सको लागि एउटा क्रियसन गरेको छु, धेरैले रुचाइदिनुभयो । र, अरु पनि यस्तै नयाँ तरिकाको, फ्युजन टाइपको गीत ल्याउने कोसिसमा छु, आउँदै पनि छ ।’

नयाँ टेस्टसँगै आधुनिकलाई पनि अगाडि बढाउँदै लैजाने सीडी बताउँछन् । ‘आधुनिकसँगै नयाँ टेस्ट पनि दिँदै जाने छु, पप सुन्ने, रक सुन्नेहरुको लागि सीडी विजय भनेर चिनिन चाहन्छु । नयाँ सिर्जनाहरु बढाउँदै जाने छु’ उनी भन्छन् ।

आफूले विगतमा गरेका संघर्षहरुलाई अहिले मिठो पलको रुपमा लिन्छन् उनी । भन्छन्, ‘त्यो बेलमा मेरो लागि तितो थियो होला । तर, मलाई अहिले त्यो पनि मिठो लाग्छ । त्यो रातले गर्दा अहिले उज्याले दिन भएको छ ।’

जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले हार नखाएको सीडी विजय बताउँछन् । ‘त्यो बेलाको संर्घषले मलाई अहिले शिक्षा दिइरहेको छ । त्यो कुरालाई अहिले अँगालेर अगाडी बढिरहेको छु । धेरै मौका पाएको छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्