Logo
Logo

‘टिक्ने होइन, आफूलाई टिकाउने हो’


एमपी सुब्बा


काठमाडौं । ‘टिक्ने होइन, आफूलाई टिकाउने हो’ प्रथम नेपाली तारा दिपक लिम्बूको यो भनाइ कति सान्दर्भिक छ भन्ने पछिल्लो आइडल वा स्टारहरुको अवस्था हेर्दा प्रष्ट हुन्छ । केही वर्षयता विभिन्न विधा र शीर्षकमा आयोजना हुँदै आएका ‘रियालिटी शो’बाट छानिएर आएका स्टारहरु ‘किन टिकेनन् ?’ भन्ने सवालमा प्रथम नेपाली तारा दिपक लिम्बूको यस्तो भनाइ आएको हो ।

दृष्टि न्युजसँगको सवाल–जवाफमा दिपकले भने, ‘रियालिटी शो एउटा माध्यम मात्र हो । टिक्ने र टिकाउने आफूमा भरपर्छ ।’ गायक दिपकको भनाइमा दम्भ र घमण्ड दुवै छ । दम्भ यस कारण कि, पछिल्लो समय रियालिटी शोबाट उदाएका स्टारहरु ‘आज आए, भोलि हराए’ भनेजस्तै भएका छन् । घमण्ड किनभने, प्रथम नेपाली तारा भएसँगै दिपक सांगीतिक आकाशमा चम्किरहेका छन् ।

सन् २००५ मा सांगीतिक रियालिटी शो ‘नेपाली तारा’ बनेपछि चम्किएका दिपकको माग र डिमाण्ड अझै उस्तै छ, जबकि त्यसपछि आएका कतिपय रियालिटी स्टारहरु बत्ती बालेर खोज्ने अवस्थामा पुगेका छन् ।

‘प्लेटफर्म पाएपछि आफूले पनि मिहिनेत गर्नुपर्छ’ दिपकको भनाइको सारतत्व यही हो । अवसरलाई सदुपयोग गर्न सकेन भने जस्तोसुकै ‘तारा’ पनि धमिलो हुन्छ अर्थात त्यो चम्किँदैन । गायक दिपक भन्छन्, ‘नेपाली तारा मेरो लागि एउटा प्लेटफर्म हो । मैले हरेक अवसरहरुमा मिहिनेत गर्न छाडिनँ ।’ दिपक सांगीतिक आकाशमा चम्किरहनुको अर्को कारण हो यो ।

विनोद राई ‘प्रियदर्शी’ र अनुश्री वेनर्जीलाई आफ्नो गुरु मान्छन् दिपक । विनोद र अनुश्रीद्वारा संगीतमा दीक्षित हुँदै गर्दा दिपक ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मा सहभागी भए । त्यतिखेरको यो चर्चित रियालिटी शो हो । अन्ततः उनी ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मा प्रथम भए । त्यो दिपकको पहिलो सांगीतिक उपलब्धी थियो ।

अर्को कुरा, सफलता हासिल गर्नु आफूमा भरपर्छ, त्यो संगीतमा मात्र नभएर हरेक क्षेत्रमै किन नहोस् । यहाँ प्लेटफर्म र अवसर पाएर पनि आफ्नै व्यवहार र घमण्डले धेरै आइडल र स्टारहरु ओझेलमा पर्दै गएका छन् । आफूले जन्माएका प्रतिभाहरु ‘कोही बेनाम र बेकाम नबनोस्’ भन्ने आयोजकको पनि इच्छा हो किनकि, रियालिटी शोका आयोजकको काम लुकेर बसेका प्रतिभालाई जनमानसम्म चिनाउनेमात्र हो ।

अझ भनौँ, ‘नेपाली तारा’ले दिपकलाई ‘प्लेटफर्म’ दियो । तर, उनले ‘नेपाली तारा रियालिटी शो’लाई नै चिनाए किनकि, ‘नेपाली तारा’ उपाधि जितेको झण्डै १६ वर्ष वितिसक्दा पनि उनी ‘प्रथम नेपाली तारा’ भनेर चिनिन्छन् । दिपकले ‘नेपाली तारा’लाई ‘ब्राण्डिेड’समेत बनाएका छन् ।
दिपकको सांगीतिक करिअर
दिपकले २०५३/०५४ सालबाटै माइक समाउन थालेका हुन् । उनको आफ्नो गीत रेकर्ड भएको थिएन । तर, अरुकै गीत गाएर उनी स्टेज थर्काउँथे । औपचारिक संगीत यात्रा भने दिपकले २०५७ सालबाट सुरु गरेका हुन् । दिपकले भने, ‘ममा संगीतप्रतिको लगाव बढ्दै थियो । त्यसलाई निरन्तरता दिन २०५७ सालमा संगीतको औपचारिक ज्ञान लिएँ । त्यहीबाट मेरो संगीत करिअर सुरु भएको हो ।’

विनोद राई ‘प्रियदर्शी’ र अनुश्री वेनर्जीलाई आफ्नो गुरु मान्छन् दिपक । विनोद र अनुश्रीद्वारा संगीतमा दीक्षित हुँदै गर्दा दिपक ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मा सहभागी भए । त्यतिखेरको यो चर्चित रियालिटी शो हो । अन्ततः उनी ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मा प्रथम भए । त्यो दिपकको पहिलो सांगीतिक उपलब्धी थियो ।

एक किसिमले भन्ने हो भने दिपकको भाग्यमै ‘रियालिटी स्टार’ बन्नु थियो । त्यो बेला ‘ब्राइटर तिम्रो सुर मेरो गीत’जस्तो चर्चित रियालिटी शोमा प्रथम भइसकेका दिपकले ‘प्रथम पूर्वाञ्चल आधुनिक गीत प्रतियोगिता-२०५८’मा पनि प्रतिस्पर्धा गर्दै प्रथम भए । दिपक भन्छन्, ‘त्यसपछि मेरो सांगीतिक यात्राको बाटो सोझियो । तर, म चुप लागेर बसिनँ । २०५८ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएँ । पास पनि भएँ ।’

झण्डै दुई दशकदेखि संगीत क्षेत्रमा दिपक त्यतिकै चम्किएका होइनन् । उनले चम्किरहन लगातार आफूलाई कसि लगाउँदै आए र लगाइरहेका छन् । ‘आइडल’ वा ‘रियालिटी स्टार’हरु पछिल्लो समय ‘धिपधिपे’ दियोजस्तै बन्न थालेको अवस्थामा दिपक भने प्रथम नेपाली ताराको रुपमा चिनिँदै आएका छन् ।

काँचको कचौरा पनि सधैँ दराजभित्रै राख्यो भने खिया पर्छ । तर, लगातार कसि लगायो भने चम्किँन्छ । तर, पछिल्लो समय कसि होइन, ‘बसी’ माग्ने ‘रियालिटी स्टार’हरुका कारण आयोजकमाथि नै खिया लाग्न थालेको भान हुन थालेको छ ।

अनि ‘नेपाली तारा’

दुई वटा रियालिटी शो र रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि दिपक एल्बम निकाल्न धरानबाट काठमाडौं आए । त्यतिखेरै उनले पत्रपत्रिकाबाट ‘नेपाली तारा’ हुँदैछ भन्ने थाहा पाए । ‘रियालिटी शो’मा लत भइसकेका दिपकले ‘नेपाल तारा’मा पनि अडिसन दिए ।

‘रियालिटी शो’ प्रतिस्पर्धा गर्र्न अनुभवी दिपकले अन्ततः ‘नेपाली तारा’को उपाधि पनि आफैँले राखे । अहिले दिपकले कति गीत गाएभन्दा पनि कति गाउँछन् ? भन्ने अवस्था छ किनकि, दिपकले हालसम्म तीन सयभन्दा बढी नेपाली चलचित्रमा स्वर दिइसकेका छन् । उनले गाएको गीतको संख्या गन्ने हो भने १३ सयभन्दा बढी पुग्छ ।

पाश्र्वगायकको रुपमा समेत चर्चित दिपकले भने, ‘मैले अवसरलाई सदुपयोग गरेँ । मिहिनेत भन्ने त छँदैछ । मेरो मिहिनेतलाई सबैले रुचाएपनि । त्यसैले आज यहाँ छु म ।’ उनले ‘नेपाली तारा’ आफ्नो सांगीतिक करिअरमा ‘थप माध्यम’ बनेको उनले बताए ।

हुन पनि त्यो समय ‘रियालिटी शो’हरु कमै हुन्थ्यो । त्यसअघिसम्म ‘नेपाली तारा’जस्तो अन्तर्राष्ट्रिस्तरको रियिालिटी शो आयोजना भएको थिएन । त्यसैले सबैको चासो भयो । तर, अहिलेजस्तो प्रचारको माध्यम भने धेरै थिएन । फेसबुक, यु-ट्युबजस्ता सामाजिक सञ्जाल नेपालको आएकै थिएन । त्यो समयमा रेडियो, टेलिभिजन र केही पत्रपत्रिका मात्र थियो ।

दिपक भन्छन्, ‘मैले नेपाली तारा जितेको समयताका रेडियोमा तीन/चार पटक गीत बज्यो भने ‘हिट’ हुन्थ्यो । टेलिभिजनमा भिडियो प्रसारण हुन त भाग्य नै हुनु पर्दथ्यो । तर, अहिले जमाना कहाँ पुगिसक्यो ।’

हिट दिपक

नेपाली तारा भएपछि दिपकलाई चलचित्रको गीतका लागिसमेत अफर आउन थाल्यो । दिपकले अवसरलाई चुकाएनन् । उनले गाएका अधिकांश चलचित्र गीतहरु हिट हुन थाल्यो । दिपकले गाएको चलचित्र ‘हिम्मत’को ‘मैले त्यही भएर मन पराको’ बोलको गीत ब्लकबस्टर नै भयो । त्यसपछि दिपकलाई पछाडि फर्केर हेर्नु परेन । स्टेज कार्यक्रमहरुमा पनि उनको डिमाण्ड बढ्दै गयो । अनि उनलाई लाग्यो, ‘अबचाहिँ टिकाउने भइयो ।’

दिपकका ‘त्यही भएर मन पराको’, ‘नाइँ नभन्नु ल’, मुटु माग्यौँ तिमीले’, ‘कसले चोर्यो मेरो मन’, ‘मैले माया गर्न जानिनँ’, ‘सिम्पल सिम्पल कान्छीको’, ‘यहाँ देशको छ चिन्ता’, ‘ढल्क्यो ढल्क्यो’, ‘कुन देशकी परी’, ‘मागेर पाउने भए’जस्ता दर्जनौँ आधुनिक तथा चलचित्र गीतहरु हिट छन् । यी गीतहरु हरेक दर्शक तथा श्रोताको ओठमा झुण्डिएको छ ।

र, दिपकको रुचि

दिपक यदि गायक वा ‘नेपाली तारा’ नभएको भए फुटबल खेलाडी हुन्थे, नत्र फिल्मको हिरो । सानैदेखि नाच्न, गाउन र खेल्न रुचाउने गरेको बताउँदै उनले भने, ‘म राम्रो फुटबल खेल्थेँ । भलिवल खेल्न पनि मलाई मन पर्दथ्यो । तर, विस्तारै कलाकारितामा लगाव बढ्दै गयो । खेलाडी वा गायकमध्ये एकचाहिँ पक्कै बन्थेँ । गायक भएर पनि खुसी नै छु ।’

‘नेपाली तारा’ नबनेको भएपनि आफू गायन क्षेत्रमै श्रोताले पाउनेमा उनी त्यतिखेर ढुक्क थिए ।

 

प्रतिक्रिया दिनुहोस्