Logo
Logo

पूर्वाग्रहका आधारमा कसैलाई कारबाही गरिने छैनः प्रमुख आयुक्त राई


दृष्टि संवाददाता


काठमाडौं, १५ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले  आयोगलाई थप प्रभावकारी बनाइने बताएका छन् । अख्तियारी दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने तर आग्रह तथा पूर्वाग्रहको आधारमा आफू नचल्ने उनको भनाई छ ।


काठमाडौं महानगरपालिका १९ का स्थानीयहरुद्वारा शनिबार आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै उनले प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम हुँदै नहुने दाबी गरे। प्रमुख आयुक्त राईले आयोगको इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने प्रतिबद्धता जनाएका छन् ।

मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आमनागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको औँल्याए। आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने उनको प्रतिबद्धता छ।

‘आमनागरिक, मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्। उहाँहरूको अपेक्षा अनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन’, राईले भने। ‘ग्राफले के देखाएको छ भने भ्रष्टाचारको अवस्था बढ्दो रुपमा छ, त्यसैले अहिले भ्रष्टाचार नियन्त्रण एउटा चुनौतीको विषय रहेको छ, यो चुनौतीलाई मैले अवसरको रुपमा पनि लिएको छु’ उनले भने ।

राई काठमाडौंको वडा नम्बर २९ घट्टेकुलोका बासिन्दा भएकाले त्यहाँका संघ संस्था र अगुवाले उनको सम्मान गरेका हुन् ।
घट्टेकुलो नमुनानगर टोल सुधार समितिका अध्यक्ष इन्द्रसुर राई, सामाजिक विकास समाज अनामगनरका कार्यावाहक अध्यक्ष ओम उप्रेती, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराज राजवंशी, घट्टेकुलो विकास समाजका संस्थापक अध्यक्ष रहेका कलाकार मदनदास श्रेष्ठ, २९ नम्बर वडाका अध्यक्ष कुश ढकाल लगायतले प्रमुख आयुक्त राईलाई सम्मान गरी सफल कार्यालयका लागि शुभकामना दिएका छन् । खासगरी ठूला भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्न उनीहरुले सुझाव दिएका छन् ।


कार्यक्रमका संयोजक मोहन डाँगीले निर्भिक रुपमा भ्रष्टाचारीविरुद्ध कारबाही गर्न प्रमुख आयुक्त राईलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्