Logo
Logo

उच्च हिमाली जिल्लामा फेरि हिमपात


- दृष्टि न्युज/संवाददाता


हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित गत हप्ता परेको बाग्लो हिउँ हाल सम्म पनि नपग्लिएको दृश्य ।

हुम्ला, ९ फागुन । हिमाली जिल्ला हुम्लामा आज बिहीबार फेरि हिमपात सुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।

उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिगँ्रदा एक महीनादेखि मर्मत नहुँदा टेलिफोन गर्न नपाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । त्यस क्षेत्रका स्थानीयले नमस्ते, स्काइ टेलिफोन सेवाले काम नगर्दा जिल्ला बाहिर रहेका आफन्तसँग सन्चो बिसन्चो सोध्नलाई समस्या बनाएको छ ।
माघ महीनामा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ । आज बिहान निरन्तर परेको हिउँ करीब चार इन्च जमिसकेको छ । हिमपातले चिसो बढ्दै गएको छ ।

प्रहरीको वासस्थान स-यो
नाम्खा गाउँपालिका–६ मुचुमा रहेको प्रहरी चौकी भारी हिमपातको चिसोले तीन घण्टा पैदल हिँडेर पुग्ने स्थान तुम्कोटमा सारिएको प्रहरी प्रमुख श्रेष्ठले बताए । नेपाल प्रहरीको सञ्चारसेटबाहेक अन्य टेलिफोन सेवा बिग्रँदा समस्या बनाएको उनले जानकारी दिए । नाम्खा गाउँपालिकाको खबर प्रहरी सञ्चार सेटमा लिने गरेको जानकारी प्राप्त भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च हिमाली गाउँपालिकामा पर्ने भएकाले हिमपातले चिसो बढाएको तीन घण्टा तल बेँसीतिर सारिएको उनले बताए ।

दाउराको माग

जिल्ला सदरमुकाम सिमकोटमा यतिबेला दाउराको माग बढ्दै गएको छ । हिमाली जिल्ला हुम्लामा लगातार हिमपात हुँदा चिसो बढेसँगै दाउराको माग बढ्दै गएको छ । उत्ता हिल्दुम साना जलविद्युत् केन्द्रले विद्युत् भार कटौती समय तालिका बढाउँदै गएपछि दाउराको माग बढेको हो ।
जिल्लाका खार्पुनाथ सिमकोट गाउँपालिकाका स्थानीयले सिमकोट बजारमा ल्याएका दाउरा एक भारीको रु ५०० देखि एक हजारसम्मको मूल्य तिरेर खरीद गर्नुपरेको सिमकोटमा बस्दै आएका विनिता महताराले बताए । लगातार हिमपात हँुदा घार बनाउन वनमा गएर दाउरा टिप्नलाई गाह्रो हुँदा महँगो मूल्यमा किन्नुपरेको उनले बताए । दाउरा बिक्री गर्ने खच्चड व्यवसायीले पनि राम्रो आम्दानी गरेका छन् ।

डोल्पालीहरू अलपत्र

केही समयदेखि परेको हिमपातले डोल्पा जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । चार÷पाँच फिटसम्मको हिउँ जमेका कारण यहाँका वासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । विगतका वर्षहरुमा सामान्यतः माघको अन्तिमसम्म मात्रै हिमपात हुने गरेकामा यस वर्ष फागुनको मध्यसम्म पनि हिउँ पर्ने क्रम रोकिएको छैन ।
हिमपातकै कारण कतिपयको घरभित्र जोहो गरेको खाद्यान्न सकिन लागेकाले भोकमरीको अवस्था आउने सम्भावना देखिएको छ । विरामी हुँदा औषधोपचार गर्ने तथा चौंरीलगायतका पशुहरूलाई खुवाउने कुराको अभावमा भोकै मर्ने स्थिति समेत उत्पन्न हुनसक्ने खतरा देखिएको छ ।
हिमपात नरोकिएका कारण जाडो छल्न काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा झरेका कतिपय डोल्पाली घर फर्किन सकेका छैनन् । महीनौंसम्म राजधानीमा बस्नुपर्दा खर्च धान्न पनि मुस्किल भएको डोल्पा बुद्ध गाउँपालिका(१ धो तरापका नाम्ग्याल गुरुङले बताउनुभयो । उहाँका अनुसार यतिबेला राजधानीमा मात्रै ५०० भन्दा बढी डोल्पाली बौद्धलगायतका स्थानमा अलपत्र परेका छन् । रासस

मुक्तिनाथ मन्दिरमा अझै हिउँ पग्लेन हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा गत हप्ता परेको बाग्लो हिमपातका कारण हाल सम्म पनि हिउँ नपग्लिदा मन्दिर दर्शन गर्न आउने भक्तजनलाई समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्