Logo
Logo

नेकपा विवादले अप्ठ्यारोमा संसद सचिवालय, एउटै दलका दुई प्रमुख सचेतक !


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद नटुंगिदा संसद सचिवालय अप्ठ्यारोमा परेको छ । फागुन २३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा नेकपाका दुबै समूहलाई सत्तारुढ दलकै रुपमा राख्ने सचिवालयको तयारी छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सचिवालयले नेकपालाई एउटै दलका रुपमा चिन्ने बताएका छन् । उनले भने, ‘नेकपा फुटेको आधिकारिकता छैन, अहिले एउटै दलका रुपमा मात्र चिनिन्छ ।’

संसद बैठक बस्नुअघि सभामुखले बोलाउने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कसरी प्रतिनिधित्व गर्ने भन्नेमा अन्योल देखिएको छ । नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकका रुपमा रहेका देवप्रसाद गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेपछि थप संकट परेको हो ।

संसदीय नियमावली अनुसार संसदीय दलका नेताले प्रमुख सचेतक वा सचेतक संसदीय दलका नेताले चयन गर्न सक्ने व्यवस्था छ । यही आधारमा भट्टराई नेकपाका प्रमुख सचेतक संसद सचिवालयले मानेको छ ।

तर, नेकपा प्रचण्ड–माधव समूहका नेता समेत रहेका गुरुङले पार्टीको साधारण सदस्यता समेत नरहेका ओलीले हटाएर आफू नहट्ने जिकिर गरेका छन् । उनले नेकपाको आधिकारिक प्रमुख सचेतक आफैं भएको दाबी गरेका छन् ।

यस्तो अवस्थामा के गर्ने भनेर सभामुख अग्नि सापकोटाले छलफल थालेका छन् । कानूनी रुपमा प्रमुख सचेतककै हैसियतमा भट्टराईलाई बोलाउनुपर्ने भएपनि गुरुङलाई पनि बैठकमा बोलाउने बाटोको खोजीमा सभामुख सापकोटा रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रमुख सचेतकलाई पार्टीको ह्वीप लगाउनेदेखि सदनमा सांसदहरुको धारणा राख्न सभामुख समक्ष समय लिनसक्ने अधिकार रहन्छ । अहिले नेकपाका सांसदहरु भट्टराई वा गुरुङ कसको निर्देशन मान्ने भन्ने अन्योल रहेको छ । आज पनि सभामुख सापकोटाले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्