Logo
Logo

फेल भएकालाई लाइसेन्सः सहसचिवसहित यातायातका १७ कर्मचारीलाई सफाइ


दृष्टि संवाददाता


काठमाडौं, १९ फागुन
परीक्षामा सहभागी नभएका तथा फेल भएकालाई पास भएको देखाएर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिएको अभियोग लागेका सहसचिवसहित १७ कर्मचारीले सफाइ पाएका छन् । तीनवटा फरक–फरक मुद्दामा विशेष अदालतले चारजनालाई आंशिक दोषी ठहर गरी अन्यलाई सफाइ दिएको हो ।


विशेष अदालतका न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले आइतबार तीनवटा मुद्दामा फैसला गरेको हो । परीक्षामा फेल भएकालाई लाइसेन्स दिइएकोमा आयोगले तीनवटा मुद्दामा २० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । एक कर्मचारी दुईवटा मुद्दामा प्रतिवादी बनेका थिए ।

२३ असोज २०७५ मा आयोगले यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, बागमती एकान्तकुनाका कार्यालय प्रमुख तेजनारायण यादव (पछि सहसचिव) लगायतविरुद्ध मुद्दा दायर गरेको थियो । सो मुद्दामा अधिकृत श्याम केसीलाई ६ महिना कैद र १० हजार रुपैयाँ तथा लक्ष्मण तिवारीलाई १० हजार जरिवाना सजायको फैसला भएको छ । सहसचिव यादवसहित शाखा अधिकृत ईश्वरराज रेग्मी, मेकानिकल इन्जिनियर श्याम केसी, शाखा अधिकृतहरू भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमती, ठूलोभ¥याङ काठमाडौं कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अप्रेटर विज्ञान खड्गी र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भुसालले सो मुद्दामा सफाइ पाएका छन् ।

आठ सयभन्दा बढी सवारी लाइसेन्समा नतिजा फेरबदल
१ माघ २०७४ देखि २५ फागुनसम्म जारी भए–गरेका कार, जिप, डेलिभरी भ्यान वर्गको सवारीचालक अनुमतिपत्रका बारेमा आयोगले छानबिन गरेको थियो । सो अवधिमा दुई सय आठवटा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा परीक्षाको नतिजा फेरबदल एवं थपघट गरी–गराई लाइसेन्स दिइएको पुष्टि भएको थियो ।
१७ माघ २०७५ मा आयोगले अन्य आठ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा सातजनाले सफाइ पाएका छन् भने एकजना मात्र दोषी ठहर भएका छन् । शाखा अधिकृतहरू भक्तबहादुर विष्ट¸ विष्णुप्रसाद सुवेदी, यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालय ठूलोभ¥याङ काठमाडौंका कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालय एकान्तकुनाका कम्प्युटर अप्रेटर जयनारायण चौधरी, सचिनकुमार सिंहविरुद्ध मुद्दा दायर भएको थियो ।

तत्कालीन यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालय एकान्तकुनापछि कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अप्रेटर अमितकुमार साह, पछि मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अप्रेटर विजयराम वनमाला र प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अप्रेटर मदनकुमार साहलाई समेत सो मुद्दामा आयोगले प्रतिवादी बनाएको थियो । उनीहरूमध्ये कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी मात्र दोषी ठहर भएका छन् । उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । सो मुद्दामा आयोगको अनुसन्धानबाट १६ साउन २०७५ देखि २४ असोजसम्म एकान्तकुना कार्यालयबाट लिएका विभिन्न वर्गका सवारीचालक अनुमतिपत्रहरूको प्रयोगात्मक परीक्षामा फेल÷अनुपस्थित÷चेकलिस्टमा नाम समावेश नभएकासमेत गरी ६ सय २९ वटा सवारीचालक अनुमतिपत्रको नतिजा फेरबदल गरी लाइसेन्स दिइएको पाइएको थियो ।

यातायातका नासु लेखनाथ भुसालले परीक्षा फेरबदल मुद्दामा सफाइ पाएका छन् । घुस मुद्दामा भने दोषी ठहर भएका छन् । १६ माघ २०७४ मा उनलाई आयोगले ३२ हजार घुससहित पक्राउ गरेको थियो । सो मुद्दामा ३२ हजार जरिवाना र तीन महिना कैदको फैसला भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए । सो घटनामा यातायातका अधिकृत शिवप्रसाद सुवेदी र अर्जुनकुमार आचार्यको समेत मिलेमतो रहेको भन्दै मुद्दा दायर भएकोमा उनीहरूले सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्