काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि दुई वर्ष अघि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । बिहीबार बिहान मात्र सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको थियो ।
सहमतिमा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको छ भने विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।
मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो ।
सरकारले वार्ता समिति बनाएको एक घण्टामै विप्लवलेसमेत खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजक रहेको वार्ता समिति गठन गरेको थियो । विप्लव समूहको वार्ता समिति सदस्यमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन् ।












