Logo
Logo

झापा विद्रोह र नेतृत्वबाट भएको धोका


घनेन्द्र बस्नेत, (झापा विद्रोहका सदस्य)



नेपालमा कम्युनिष्टहरू गुट–उपगुटमा विभाजित थिए । पूर्वकोशी प्रान्तीय कमिटीले स्वतन्त्र गतिविधि गरिरहेको थियो । पूर्वकोशी प्रान्तीय कमिटीको मातहतमा झापा जिल्ला कमिटी थियो । झापा जिल्ला पार्टी कमिटीले सशस्त्र संघर्ष गर्ने समय आयोभन्दा पूर्वकोशी प्रान्तीय कमिटी तयार भएन । तर, झापाका कम्युनिष्ट क्रान्तिकारी युवाले सशस्त्र विद्रोह गर्नुपर्छ भन्ने मान्यता राखे ।

सशस्त्र विद्रोहमा जाने भनिएपनि कसरी भन्ने अलमल थियो । जतिबेला चीनमा साँस्कृतिक क्रान्ति र भारतमा चारुमजदारको नेतृत्वमा नक्सलबाढी विद्रोह चलिरहेको थियो । यी दुई अन्तर्राष्ट्रिय क्रान्तिको प्रभाव नेपालमा पर्यो र जन्मियो ‘झापा विद्रोह’ । अलमलमा रहेका झापाका युवा कम्युनिष्ट चारुमजदारकै शैलीमा विद्रोह गर्न तयार भए ।

वर्गको मुक्ति, जातीय, भाषिक र धार्मिक अन्तरविरोधहरूको समाधान हुन सकेको छैन । वर्गीय अन्तरविरोधपछि परेको छ । झापा विद्रोहका शहीदहरूले देखेका सपना पूरा हुन सकेको छैन । तर, निरुत्साहित हुनुपर्ने कारण पनि छैन । निरन्तर संघर्षले एकदिन शहीदको सपना पूरा हुनेछ ।

सशस्त्र संघर्षको माध्यमबाट भूमिहीन गरिब किसानहरूको ‘स्क्वाड’मार्फत शोषक सामन्तहरूलाई आक्रमण गर्दै, सेना निर्माण गरी आन्दोलनलाई अगाडि बढाउनुपर्छ । र, गाउँ क्षेत्रबाट शोषक सामन्त मुक्त गरी गाउँले शहर घेराउ गर्दै अगाडि बन्नुपर्छ भन्ने ‘झापा विद्रोह’को मान्यता थियो ।

सम्झनामा सुखानी बलिदानी
झापा विद्रोहकै क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुुँइकेल, नारायण श्रेष्ठलगायत साथीहरू भूमिगत थिए । भूमिगत अवस्थामै पक्राउ परे । पाँचै जनालाई पञ्चायती निरंकुश सरकारले हत्या गर्ने योजना बनायो ।

२०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सरुवा गर्ने बहानामा मध्यदिन ढल्किसकेपछि पाँचै जनालाई नेल, हत्कडीसहित हतियारबन्द प्रहरीको जिम्मा लगाइयो । त्यसपछि इलाम र झापाको सीमानामा रहेको चारकोशे झाडीतर्फ लगियो । साँझ पर्ने बेलामा पाँच जनालाई सुखानी जंगलमा गोली हानी हत्या गरियो ।

हत्या गरेर तानासाही शासकले उनीहरू भाग्न खोजेपछि गोली हान्न बाध्य बनेको प्रचार गर्यो । वास्तवमा भाग्ने कुनै सम्भावना थिएन, हातमा हत्कडी, नेल लगाइएको थियो, त्यो पनि एकअर्कासँग जोल्ठ्याइएको थियो । हतियार सहितको ठूलो संख्यामा रहेका प्रहरीबाट भाग्ने अवस्था थिएन ।

सुखानी बलिदान र सपना
वर्तमान राज्यव्यवस्था ‘झापा विद्रोह’कै निरन्तरताले प्राप्ती भएको हो । तर, झापा विद्रोहले जुन उद्देश्य बोकेको थियो, मजदूर किसानहरूको राज्य कायम गर्ने त्यो कायम हुन सकेको छैन । कम्युनिष्ट शक्ति पटक–पटक सरकारमा गए, कहिले एकल त कहिले संयुक्तरुपमा । यहाँको भूराजनीतिक परिवेश एउटालाई पछारेर सत्ता कब्जा गर्ने नभएर सम्झौतामा टुंगिने अवस्था रह्यो । यसले पूर्णउपलब्धि हासिल हुन सकेको छैन ।
वर्गको मुक्ति, जातीय, भाषिक, धार्मिक अन्तरविरोधहरूको समाधान हुन सकेको छैन । वर्गीय अन्तरविरोध पछि परेको छ । झापा विद्रोहका शहीदहरूले देखेका सपना पूरा हुन सकेको छैन । तर, निरुत्साहित हुनुपर्ने कारण छैन । निरन्तर संघर्षले एकदिन शहीदको सपना पूरा हुनेछ ।

झापा विद्रोहबाट पलायन ओली
केपी शर्मा ओली ‘झापा विद्रोह’का एक सदस्य हुन् । तर, ओली झापा विद्रोहका सहयोद्धा सम्झन पनि चाँहदैनन् । उनी ‘म सही थिएँ’ भनेर बखानी गर्दै आएका छन् । यर्थाथमा त्यो होइन ।

ओलीले झापा विद्रोहको मर्म, भावना, मान्यता र शहीदका सपनाहरूलाई बिर्सिएका मात्र छैनन्, सम्झनै चाहँदैनन् । उनले ‘निरंकुश सम्राट’ बन्ने सपना देखेका छन् । त्यो सपना पूरा नहुँदा पार्टी विभाजन गरेका छन् । तर, ओलीको त्यो सपना पूरा हुनेछैन । उनको सामन्ती प्रवित्ति समूल नष्ट हुनेछ ।

झापा विद्रोहमा ओलीको भूमिका अगुवा कमरेडकै रूपमा हो । त्यसैले ओलीको भूमिका नेतृत्वदायी मान्न सकिन्छ । तर, झापा विद्रोहमा दमन भएपछि संकट पैदा हुँदा ओली पलायन भएका थिए । ओली भगौडा हुन् । पछि रौतहटतिर पक्राउ परे । जेलमा पनि उनको भूमिका उनले प्रचार गर्ने गरे जस्तो होइन ।

जेलबाट छुटेपछि पार्टीभित्रको अन्तरविरोधमा खेल्दै–खेल्दै आए । अहिले उनी पार्टीको अध्यक्ष बन्न पुगे, मुलुकको प्रधानमन्त्री बन्न पुगे । तर, उनको विचार, भावना अथवा शैली पद्दति र व्यवहारमा कतैपनि कम्युनिष्टको लेस छैन ।

कम्युनिष्ट आन्दोलनको भविश्य
नेपाली कम्युनिष्ट आन्दोलनमा फुटको इतिहास धेरै छ । अहिलेका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीचको एकताले एउटा आशा जगाएको थियो । तर, केपी शर्मा ओलीका कारण फेरि पनि कम्युनिष्ट फुटले निरन्तरता पाउने भएको छ । तर, गलत प्रवृत्तिहरू समाप्त हुँदै जाँदा सकारात्मक पक्ष हो ।

कम्युनिष्ट आन्दोलन कमजोर होइन, सुदृढ हुँदै जानेछ । गलत विचार र गलत कार्यदिशा बोकेका ओलीजस्ता शक्तिहरू कमजोर हुँदै जानेछन् । सुखानीसहित सम्पूर्ण शहीदहरूको सपना पूरा गर्न सही क्रान्तिकारी विचार, सोच, चिन्तन, व्यवहार र शैलीलाई अंगिरकार गर्दै सही कम्युनिष्ट क्रान्तिकारीहरूलाई एक ढिक्का बनाउँदै नयाँ शिराबाट एकीकरणको कामलाई सम्पन्न गर्दै अगाडि बढ्नुपर्छ ।

(झापा विद्रोहका सदस्य घनेन्द्र बस्नेतसँग दृष्टिकर्मी निरज खतिवडाले गरेको कुराकानीमा आधारित ।)

प्रतिक्रिया दिनुहोस्