Logo
Logo

बाटो बन्यो, पुलको काम अलपत्र


- दृष्टि न्युज/संवाददाता


जाजरकोट, १० फागुन । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम र जाजरकोटको सडक निर्माण भएपनि पुल निर्माण नहुँदा दैनिक समस्या हुँदै आएको छ ।
जाजरकोट खण्डको भाग कालोपत्रे गर्न सुरु गरे पनि पुल निर्माणको काम भने अलपत्र परेको छ । भेरी नदीमा पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग अधुरो भएको छ । भेरी नदीमा तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने उद्देश्यले चौरजहारी– दारेगौरा बीचमा पुल निर्माण थालिए पनि ६ वर्ष बितिसको तर पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग यात्रा गर्ने यात्रुलाई सास्ती हुँदै आएको छ ।
रुकुम पश्चिमका नेकपाका नेता तथा पूर्वगृहमन्त्री जर्नादन शर्मा र जाजरकोटका नेता तथा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई पुल निर्माणका लागि स्थानीयवासीले पटक÷पटक ज्ञापनपत्र बुझाए पनि पुल निर्माणले गति लिनसकेको छैन् ।
वाइपी कन्ट्रक्सन प्रालि ललितपुरले रु १३ करोड ४७ लाखमा पुल निर्माण गर्ने जिम्मा लिएको थियो । ठेक्का सम्झौता भएको ६ वर्ष वितिसक्दा पनि पुलको मुख्य पिलरको जग खन्ने काम पनि पूरा हुन नसक्दा यो पुल कहिले निर्माण हुन्छ भन्ने अझै एकिन नभएको स्थानीयवासी बताउँछन् । प्रालिका निर्माण व्यवसायी राजुप्रसाद श्रेष्ठ सम्पकविहीन हँुदा पुल निर्माणकार्य अलपत्र परेको छ । चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले भने, ‘मैले भन्ने ठाउँमा भनि सकेँ, तर कसैले सुनेन्न, स्थानीयवासी पुल निर्माण नहुँदा आक्रोशित भएका छन् ।’

पुल निर्माण नहुँदा नयाँ सहरको काममा बाधा
यो पुल निर्माण नहुँदा रुकुमको चोरजहारीमा रहेको अस्पतालमा बिरामी लिनेदेखि नयाँ शहर निर्माणको काममा बाधा पुग्दै आएको छ । वषौँ पुरानो झुलुंगे पुलको सहारामा यहाँका स्थानीयवासी काम गदै आएका छन् । पुल निर्माणकै ढिलाइले कुदु र चौरजहारीको व्यापार घाटा बढेको व्यापारी मोहन विष्टले बताए ।
पुल निर्माणका विषयमा सडक विभाग र निर्माण व्यवसायीले एकले अर्कालाई आरोप, प्रत्यारोपमै दिन बिताउँदा काम अलपत्र पदैआएको छ । यता निर्माण कम्पनीले सडक विभागको डिजाइनअनुसार कार्यस्थलमा कार्य गर्ने वातावरण नहुँदा पुल निर्माणमा ढिलाई भएको जनाएको छ । पुरानो डिजाइनअनुसार पिलर तथा स्टिलपार्ट भएको पुल निर्माण गर्नुपर्ने थियो ।

पुल निर्माणका लागि कम्पनीलाई ताकेता गरिरहेको र अब केही समयभित्र पुल निर्माणको काम शुरु हुने पुल निर्माण परियोजनाका निर्देशक उद्धव खत्रीले बताए ।
यस सडक खण्डको सडक खन्ने काम पूरा भए पनि ठाउँ ठाउँमा पुलनिर्माणको काम नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । यस खण्डको छेडागाड नगरपालिकाको थलह लगायतका ठाउँमा पुल निर्माणकार्य अझै शुरु हुन सकेको छैन् । रासस

प्रतिक्रिया दिनुहोस्