Logo
Logo
कला-मनोरञ्जन

जनक भन्छन्, ‘अनि निर्देशक भएँ’


एमपी सुब्बा


काठमाडौं । संघर्ष, लगनशीलता र धैर्यता । यी तीन कुराले नै मानिसलाई सफलताको सिँढी चढाउँछ । चाहे व्यापार होस् वा राजनीति नै किन नहोस् संघर्ष अपरिहार्य छ । अझ समय खर्चेरै सफलता आर्जन गर्नेहरुका लागि त यी तीनै कुराको जोडबल चल्छ । कलाकारिता यही पाटोमा चल्छ ।
प्रशंग, जनकराज खकुरेलको हो । नेपाली फिल्ममा सहायक, मुख्य निर्देशक हुँदै निर्देशक बनेका जनकले कहिल्यै हार मानेनन् । उनले करिब दुई दशक संघर्ष र मिहिनेत गरिरहे भने धैर्यता पनि कहिल्यै टुटाएका छैनन् । एकदिन कसो सपना पूरा नहोला र ? आफ्नो मनमा यही प्रश्नसहित निरन्तर अगाडि बढ्दै गए । र, अहिले उनी भन्छन्, ‘बुढापाकाले भनेको कुरा विश्व विद्यालयको शिक्षाभन्दा ठूलो रहेछ । मिहिनेत गर्न नछाड्नु भन्ने बुढापाकाको कुरा सुनेरै अहिले यो स्थानमा छु ।’


अहिले जनकराज आधा दर्जनभन्दा बढी फिल्ममा निर्देशक भइसकेका छन् । चाँडै आफ्नो आठौँ फिल्म निर्देशन गर्दैछन् । फिल्मको नाम हो, ‘द पोण्ड’ । नाम सुन्दा अंग्रेजी फिल्मजस्तो लाग्ने ‘द पोण्ड’ नेपाली समाज र परिवेशभित्र लुकेको कथा हो, जसमा भोको पेट भर्न बगरका किनारमा बालुवागिटी कुट्नेहरुको वास्तविकता समेटिने छ ।

‘संघर्ष गर्नु कति गाह्रो छ भन्ने मलाई थाहा छ’ आफ्नो फिल्मको कथासार भनिरहँदा गम्भीर हुँदै भने, ‘तिनीहरुको भन्दा मेरा कथा फरक होला, तर मेरो संघर्ष पनि कम छैन । मैले फिल्म क्षेत्रमा थुप्रै जुत्ता फटाएको छु ।’
संघर्षको दुई दशकमा अहिले उनी निर्माताको रोजाइ बन्न पुगेका छन् । ‘पढ्नेले भन्दा पर्नेले बढी गर्छ’ भन्नेहरु जनककै पिछा गर्न थालेका छन् । फिल्म कसरी बन्छ ? भन्ने प्रश्न तेर्सायो भने फिल्मकै विषयमा डिग्री गर्नेहरुभन्दा बढी जनकलाई थाहा छ । प्राविधिकको विषयमा उनलाई केस्राकेस्रा थाहा छ, किनकि उनले सहायक भएरै तीन दर्जन बढी फिल्ममा काम गरिसकेका छन् । र, उत्ति नै संख्यामा मुख्य सहायक निर्देशन गरेका छन् ।
मुख्य सहायक निर्देशकले फिल्मको स्क्रिन–प्लेदेखि क्यामेराको एगंल कताबाट तेर्साउँदा ‘फ्रेम’ राम्रो बन्छ भन्नेसमेत बुझ्नु आवश्यक छ । त्यो कुरामा निर्देशक जनक माहिर भइसकेका छन् भन्ने उनी निर्देशित फिल्महरुले प्रष्टाउँछ ।
जनकले ‘द मोशल आर्ट’, ‘संघर्ष’, ‘लुटल जिन्दगी’, सम्झिदिए पुग्छ’, ‘खुड्किलो’ ‘रामजाने’ र देश प्रेमी’जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ती फिल्ममा उनले कुनै न कुनै विषयलाई गहनता दिएका छन्, जसले हरेक व्यक्ति राष्ट्र, राष्ट्रियता र समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्देश प्रभाव गर्ने प्रयास गरेका छन् ।

जनकले फिल्म क्षेत्रबाट मिहिनेत र धैर्यता गरेजस्तै सम्मान र पुरस्कारहरुसमेत थुप्रै पाइसकेका छन् । तर, उनी अन्तर्राष्ट्रिय पुरस्कार जित्नेगरी फिल्म बनाउने सोचमा छन् । उनी भन्छन्, ‘अब ओस्करसम्म पुग्ने फिल्मको कथा खोज्दैछु ।’

जनक भन्छन्, ‘फिल्म मनोरजनमात्र होइन, समाज सुधारक र शिक्षा प्रदक पनि हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ त्यसो त ठूला लगानीमा ढर्रासहित निर्माण गरिएका फिल्मसँग जनकका कथा र प्रस्तुती नमिल्न सक्छ । र, बिग बजेटवाला निर्माता र निर्देशकलाई चित्त नबुझ्ला पनि । तर, ‘फिल्म भनेको कथा प्रस्तुती हो, जसले दर्शकलाई मनोरञ्जनसँगै चेतना पनि देओस् भन्नेहरुका लागि जनकका फिल्म काफी छन् ।

राजधानी नजिक काभ्रेपलाञ्चोकमा जन्मिएकाले पनि जनकलाई सानैबाट फिल्म क्षेत्रले आकर्षित ग¥यो । गाउँघरमा सुटिङ गरेको देख्दा उनीभित्र प्रश्न जाग्थ्यो, ‘फिल्म निर्देशक कसरी बन्न सकिन्छ होला ?’ सुटिङको तामझाम देख्दा उनलाई लाग्थ्यो, ‘फिल्म क्षेत्र रमाइलै होला ।’ तर, जनकले वास्तविकता सोचेभन्दा फरक पाए । उनले भने, ‘हेर्दा रमाइलो भएपनि गरेर देखाउनु गाह्रो रहेछ ।’

फिल्ममा सहायक निर्देशक भएर पाइला राखेका जनक भन्छन्, ‘फिल्म क्षेत्र जान्न बुझ्नकै लागि सहायक निर्देशक भएर काम थालेको हुँ ।’ फिल्मको सहायक निर्देशकले स्क्रिप्टको पूरै जिम्मा लिनुपर्ने हुन्छ । र, निर्देशकको अधिनमा ‘एक्शन–कट’ भन्नुपर्ने हुन्छ । जनकले ‘एक्शन–कट’ भन्न थाल्दा खाशै फिल्म क्षेत्र बुझेका थिएनन् । तर, उनीमा धैर्यता र लगनशीलता थियो । उनले मिहिनेत गर्न छाडेनन् । मिहिनेत र लगनशीलताकै कारण निर्देशकहरुले उनलाई मुख्य सहायकको जिम्मेवारी दिन थाले । जनक भन्छन्, ‘सहायक भएर धेरै फिल्म गर्नुपरेन । केही फिल्म गरेलगत्तै मुख्य सहायक निर्देशक भएँ ।’
मुख्य सहायक निर्देशक भनेको फिल्मको लिडर नै हो, जसले निर्देशकसँग सहकार्य गरेर आफ्नो कन्सेप्ट शेयर गर्न सक्छ । मुख्य सहायक निर्देशक भएपछि निर्देशक विनै पनि फिल्म पूरा हुन्छ । फिल्म क्षेत्रमा प्रवेश गरेको केही वर्षमै जनकले मुख्य सहायक निर्देशक भएर दर्जनौँ फिल्म गरे । विस्तारै उनी नेपालका ख्यातीप्राप्त निर्देशकको खोज्न थाले । त्यसपछि जनकलाई लाग्यो, ‘अबचाहिँ निर्देशक भएँ ।’ र, जनकले सोचे, ‘अब आफैँ निर्देशन गर्छु ।’
निर्देशकमा डेब्यू गरेसँगै जनकले निर्माताहरु पाउन थाले । फिल्म क्षेत्रमा सफल निर्देशकले मात्र लगानीकर्ता पाउने गर्छन् । उनी भन्छन्, ‘जनक फिल्म बनाऊँ, म लगानी गर्छु भन्नेहरु म कहाँ आउन थालेपछि झनै साहस आयो ।’ जनक निर्देशित फिल्ममा क्रियशन हुन्छ । र, उनका हरेक फिल्ममा नेपाली समाज र परिवेश चित्रित हुन्छ ।

सैले नाम र कृतिका लागि फिल्म बनाउन चाहनेहरु जनकसँग ठोक्किन थाले । यसैक्रममा आधा दर्जनभन्दा बढी फिल्म निर्देशन गर्न भ्याएका जनक भन्छन्, ‘अझै फिल्म क्षेत्रलाई केही दिउँँ भन्ने सोचेको छु ।’
जनक नेपाली फिल्ममा ‘अग्र्यानिक’ कथा खोज्छन् । सम्बादमा नेपालीपन र दृश्यमा डाँडापाखा र खोलानाला । जनक भन्छन्, ‘झलकै हेर्दा पनि यो नेपाली फिल्म हो भन्ने होस्, जसबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिन्छ ।’ एकताका नेपाली फिल्ममा ‘भल्गारिटी’ प्रवेश गरेको थियो । त्योबेला उनी ‘भल्गारिटी’को विपक्षमा उभिएका थिए । ‘फिल्ममा ‘भल्गारिटी’ खोज्नु सस्तो लोकप्रियता हो’ जनक भन्छन्, ‘त्यो फिल्म क्षणिक त चल्ला, तर भविष्यमा आफैँले हेर्न सकिएन भने के अर्थ ?’
फिल्मयात्राको यो दुई दशकमा जनकले भोजपुरी फिल्मसमेत निर्देशन गर्न भ्याए । भारतको महाराष्ट्र, चेन्नई, दिल्लीलगायतका स्थानमा भोजपुरी फिल्मको ठूलो बजार छ । केही नेपाली कलाकारसमेत भोजपुरी फिल्मतिर लागेका छन् । भोजपुरी फिल्म बलिउड उक्लनेका लागि भ¥याङ बन्दै आएको छ ।
पछिल्लो समय नेपालमा समेत भोजपुरी फिल्महरु बन्न थालेका छन् । जनक भन्छन्, ‘मलाई अझै केही भोजपुरी फिल्म निर्देशन गर्ने सोच छ । तर, त्यसभन्दा अगाडि ‘द पोण्ड’ बनाउँदैछु ।’ जनकको ‘द पोण्ड’ महत्वकांक्षी फिल्म पनि हो । ‘द पोण्ड’ले अहिलेसम्म नेपाली फिल्मले नबोलेको कथा बोल्ने उनको दावी छ । जुन कथा दर्शकमाझ ल्याउन जरुरी पनि छ ।
जनकले फिल्म क्षेत्रबाट मिहिनेत र धैर्यता गरेजस्तै सम्मान र पुरस्कारहरुसमेत थुप्रै पाइसकेका छन् । तर, उनी अन्तर्राष्ट्रिय पुरस्कार जित्नेगरी फिल्म बनाउने सोचमा छन् । उनी भन्छन्, ‘अब ओस्करसम्म पुग्ने फिल्मको कथा खोज्दैछु ।’ ओस्कर फिल्म दुनियाँकै सबैभन्दा प्रतिष्ठित अवार्ड तथा सम्मान हो ।

प्रतिक्रिया दिनुहोस्