Logo
Logo
ओलीपक्षीय संसदीय दलको बैठक

अविश्वासको प्रस्ताव सामना गर्ने, विश्वासको मत नमाग्ने

११५ सांसद उपस्थित भएको दावी


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावको सामना गर्ने भएका छन् ।शनिवार बालुवाटारमा बसेको नेकपा ओली समूहको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावमा डटेर सामना गर्ने बताएका हुन् ।

उनले संसदमा विश्वासको मत समेत नमाग्ने बैठकलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको आइतबार बस्ने बैठक अघि डाकिएको बैठकमा ओलीले विधि र पद्धति अनुसार प्रस्तावको सामना गर्ने समेत जानकारी दिए ।

आइतबार बस्ने बैठकमा नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेका थिए । शुक्रबार बसेको दाहाल–नेपाल समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीयको दलको नेता चयन गर्दै ओलीलाई अविश्वासको प्रस्ताव ल्याएरै हटाउने निर्णय गरेको थियो ।

राष्ट्रियसभा सदस्य सुमन प्याकरेलका अनुसार प्रधानमन्त्री आँफै संसदमा विश्वासको मत माग्ने कुनै सम्भावना नभएकाले प्रधानमन्त्रीले सिधै अविश्वासको प्रस्तावको सामना गर्ने धारणा व्यक्त गरे ।

यस्तै, ओली समूहले शनिवारको संसदीय दलको बैठकमा १ सय १५ सांसद उपस्थित रहेको दावी गरेको छ । राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद उपस्थित भएको दावी गरेका हुन् । उनले भोलि केही थप सांसद् पनि ओली पक्षमा उपस्थित हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्