Logo
Logo

सुन्दरीजलमा मेलम्चीको पानी झार्दै प्रधानमन्त्रीले भने ‘यि लड्डु यस्तोमा खानुपर्छ’


दृष्टि संवाददाता


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रमा काठमाडौंवासीका धारामा मेलम्चीको पानी आउने बताएका छन् । शनिवार मेलम्चीको पानीको अवलोकन गर्न सुन्दरीजल पुगेका प्रधानमन्त्री ओलीले लामो समयदेखिको प्रतीक्षापछि काठमाडौंवासीले मेलम्चीको पानी पाउन लागेको बताए ।

अब चाँडै काठमाडौंवासीले काठमाडौंको पानी खान पाउने भन्दै त्यसका लागि उपत्यकावासीलाई बधाइ दिए। मेलम्ची ल्याउने क्रममा थुप्रै दुर्घटना भएको जानकारी दिँदै पानी परीक्षणको क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

ठूलो काम आफ्नो पालामै सफलता हात पारेको भन्दै प्रधानमन्त्री ओलीले अहिले ठुल्ठूला काम भइरहेको बताए। एउटा लामो सपना आज पूरा भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

आफुलाई काम गर्न नदिएको अहिले आएर प्रमाणित भइरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले त देखिहाल्नुभयो होला नि? मैले सरकारलाई काम गर्न दिएन भनेर भन्दा विश्वास गर्नुभएको थिएन। अहिले असहयोग गर्नेहरू पछि हटेपछि काम कसरी अगाडि बढेको छ। त्यो त मैले भन्नै पर्दैन ।’

केही समयअघि प्रतिनिधिसभा पुनःस्थापना भएसँगै चितवनमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति कटाक्ष समेत गरे । मेलम्चीको पानी सुन्दरीजल झरेको उत्साहमा प्रधानमन्त्तीले ‘यि लड्डु यस्तोमा खानुपर्छ’ भन्दै कटाक्ष गरे ।

प्रधानमन्त्री ओलीले मेलम्ची सपनाको उठान हुँदा आफ्नो कपाल कालै रहेका र अहिले सेतै हुँदा पानी आएको भन्दै खुसी व्यक्त गरे । उनले मेलम्ची पानी वाग्मती नदीमा खस्नु आफ्नो कार्यकालको ठूलो सफलता भएको पनि बताउन भ्याए ।

 

प्रतिक्रिया दिनुहोस्