काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले दलसम्बन्धी सर्वोच्च अदालतको निर्णय बेठिक समयमा आएको बताएका छन् ।
आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंग कुरा गर्दै गुरुङले नेकपा दलको आधिकारीकताका बारेमा गरेको निर्णय समयमा आउन नसकेको र बेठिक समयमा आएको बताएका हुन् ।
‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्वाचन आयोगमा परिराखेको बहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाहिँ उपयुक्त समय हो भन्ने देखिदैन । न्याय इनटाइममा दिनुपर्थ्यो। बेठीक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साइड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला’ उनले भने ।
गुरुङले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई ब्यूँताइ यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे । पार्टी एकीकरणपछि ३ वर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवशेष मेटिन नसक्ने उनको भनाइ छ ।












