Logo
Logo

अदालतबाटै भागे अभियुक्त, तीन प्रहरी निलम्बित


दृष्टि संवाददाता


विराटनगर, २४ फागुन ।
लागूऔषध मुद्दामा दुई जना अभियुक्त जिल्ला अदालत मोरङबाट फरार भएको घटनामा छानबिन समिति बनेको छ । म्याद थप गराउन लगेको समयमा फरार भएका हुन् । जून प्रकरणमा छानबिन समिति गठन गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको छ ।


जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरी हबलदार पुण्यप्रसाद पोखरेल, प्रहरी जवानद्वय डम्मरबहादुर लिम्बू र अजयकुमार रायलाई निलम्बन गरेर घटनाको छानबिन भइरहेको बताए ।

उक्त घटनामा जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

जिल्ला प्रहरी मोरङले लागु औषध मुद्दामा पक्राउ परेका दुई जना थुनुवालाई म्याद थपका लागि फागुन १० गते जिल्ला अदालतमा लगेको बेला दुवै जना हथकडीसहित फरार भएका थिए । फरार भएकामध्ये कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेखलाई फाल्गुन १२ गते भारतको अररीयाबाट पक्राउ गरेको छ । अर्का झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी भने हालसम्म फरारै रहेकाले प्रहरीले खोजी कार्य गरिरहेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले शेखलाई फाल्गुन ९ गते कटहरीबाट खैरो हिरोइनसहित र चौधरीलाई बरगाछीबाट लागूऔषधसहित पक्राउ गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुवै जनालाई सोमबार म्याद थपका लागि जिल्ला अदालत मोरङ लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्