Logo
Logo

जसपाले बोलायो संसदीय दलको बैठक


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न बै मंगलबार दिउँसो एक बजे दलको बैठक बोलाएको जसपाका नेता राजकिशोर यादवले जानकारी दिए ।

प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाएको यादवले बताए ।

‘समग्रमा राष्ट्रिय राजनीतिबारे छलफल हुन्छ त्यो भनेको सरकार गठन पनि पर्छ । मुख्यतः संसद्‌भित्र जसपाले के भूमिका खेल्न सक्छ भन्ने किसिमले कुराकानी हुन्छ,’ यादवले भने ।

आफूहरू प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै आन्दोलनमा गएको र पुनःस्थापना भएपछि त्यसका बारेमा दृष्टिकोण पनि दलको बैठकले तय गर्ने उनको भनाइ थियो ।

सर्वोच्च अदालतले सत्तारुढ नेकपा नामको आधिकारिताबारे आइतबार फैसला गरेको थियो । जसमा नेकपा दल ऋषि कट्टेलको हो भनेको थियो । त्यसका साथै साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

प्रतिक्रिया दिनुहोस्