काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले अपराधीहरूलाई कानूनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले दिनानुदिन बलात्कारका घटनाहरू बढ्नु चिन्ताको विषय बनेको बताए ।
उनले अपराधीहरूलाई कानूनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तराष्ट्रियस्तरमा मुलुकको छविसमेत धुमिल भइरहेको बताए ।
संविधानले महिलाहरूलाई समान अधिकार दिएको र सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको उनले बताए ।
कानूनले दिएका अधिकारहरूको व्यवहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी रहेको उनले बताए । उनले महिलाहरूद्वारा सञ्चालित उद्दमहरूको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्नो बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गरे ।
उक्त अवसरमा उपराष्ट्रपति पुनले नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको पनि उद्घाटन गरे । सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ ।












