Logo
Logo

सत्ता जोगाउन ओलीले सुरु गरे चलखेल, जसपासँग गोप्य छलफल


दृष्टि संवाददाता


काठमाडौं । सरकार जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चलखेल सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग सोमबार विहान वालुवाटारमै छलफल गरेको स्रोतले बताएको छ ।

जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अब आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि ओली संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई दल भन्दा बढीको समर्थनमा प्रधानमन्त्री भन्नुपर्नेछ ।

अर्थात अब सदनमा ओलीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ । माओवादी केन्द्रले साथ छोड्दा उनी अल्पमतमा पर्नेछन् । त्यसैले विश्वासको मत लिनका लागि ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई समर्थन गर्न आग्रह गरेका हुन् ।

एमालेसँग हाल १२० सांसद संख्या रहेको छ, सरकारका लागि बहुमत पुर्याउन १३८ सिट चाहिन्छ । जसपासँग दुई सांसद निलम्बन बाहेक ३२ सिट रहेको छ । यी दुई दलको संख्या जोड्दा १५२ पुग्छ । त्यसैले पनि उनले जसपालाई सत्तासाझेदार बनाउने प्रयास थालेका हुन् ।

जवाफमा अध्यक्ष ठाकुरले केही शर्तहरु अघि सारेका छन् । स्रोतका अनुसार कैलाली क्षेत्र नम्बर १ का निलम्बनमा परेका सांसद रेशम चौधरीको रिहाइ, लाल आयोग प्रतिवेदन सार्वजनिक लगायतका माग पुरा गरेको खण्डमा साथ दिन सकिने ठाकुरले ओलीलाई प्रतिवद्धता जनाएका छन् । जसपाको शर्तमा ओली सकारात्मक बनेको स्रोतले बताएको छ ।

सरकार जोगाउनैका लागि ओली जुनसुकै माग पुरा गर्न पनि तयार रहने संकेत देखिएको छ । भएकै प्रधानमन्त्रीबाट शर्त पुरा गर्न सजिलो हुने भएपछि जसपा कांग्रेस वा माओवादीसँग भन्दा एमालेसँगै सत्तासाझेदारी गर्न ‘कम्फर्ट’ रहेको जसपा स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्