Logo
Logo

आफ्नै घर जलाएर खरानी घस्दै ओली


मिलन लिम्बू


स्थापनाको सात दशकपछि पहिलोपटक कम्युनिष्ट पार्टीले संसदीय निर्वाचनमार्फत दुईतिहाइ मत पायो । यो मत नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलरे बनेको नेकपाको एक्लो उपलब्धि मात्र होइन, सिंगो कम्युनिष्ट आन्दोलनको उपलब्धि होे । तर, केपी शर्मा ओलीको एक्लो प्रयासमा नेकपाले दुईतिहाइ मत पाएझैँ ओली निकट ‘बा’ समूह भ्रम छर्दैछन् । गोयवल्स शैलीमा हुने प्रचारले ओलीको छवि बढेको छैन, बरु छायाँमा पर्दै गएको छ ।

ओली, जुन धरातलमा उभिएका छन्, त्यसको जग ‘झापा विद्रोह’ हो । पञ्चायती निरंकुश राजतन्त्रविरूद्ध उभिँदा ‘को–अडिनेशन कमिटी’का धेरै योद्धा शहीद भए । ओली आफैँले पनि चौंध वर्ष जेलजीवन बिताए । यसको मतलव नेपाली कम्युनिष्ट आन्दोलन र उपलब्धिमा ‘झापा विद्रोह’को ठूलो योगदान छ ।

झापा विद्रोहका क्रममा शहीदले देखेको सपना पूरा गर्ने ऐतिहासिक अवसर दुईतिहाइ बहुमतको नेकपा सरकारलाई थियो । तर त्यो अवसर ओलीको दम्भले गुम्यो । ओलीले बाटो बिराउँदा त्यो अवसरमात्र गुमेन, कम्युनिष्ट आन्दोलनमै ठूलो संकट पैदा भएको छ ।

हरेक वर्षको २१ फागुनले झापा विद्रोहको क्रान्तिकारी इतिहास स्मरण गराउँछ । पञ्चायती निरंकुश राजतन्त्रविरुद्ध संघर्षको क्रममा नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई २०२९ साल फागुन २१ गते सुखानीमा क्रुरतापूर्वक हत्या गरिएको थियो । झापा विद्रोहकै क्रममा अरु धेरैले ज्यान गुमाए, जेलजीवन बिताए ।

सुखानीका शहीद रामनाथ दाहालको एउटा भनाइ करिब पाँच दशकपछि सावित भएको छ । उनले भनेका थिए, ‘कम्युनिष्ट सत्तामा गएपछि नेताहरु प्रलोभनमा फसे भने राष्ट्र र जनताले दुःख पाउँछन् ।’ आज सहयोद्धा केपी शर्मा ओली सत्तामा पुगेका छन् । उनै ओली प्रलोभनमा फसेका छन्, देश र जनताले दुःख पाएका छन् ।झापा विद्रोहकै आलोकमा ओलीका कदमहरुलाई यसरी व्याख्या गर्दा राम्रो होला ।

झापा विद्रोह पञ्चायती निरंकुशताविरुद्ध थियो । सोही विद्रोहका योद्धा ओलीले तानाशाह प्रवृत्तिलाई बढावा दिँदैछन् । झापा विद्रोहको साखः धान्ने रामकुमारी झाँक्रीहरु ओली प्रवृत्तिको आलोचना गरेकै कारण जेल जानु पर्यो ।

झापा विद्रोह समान्ती शोषक र जमिदारविरुद्ध थियो । आज ओली आफैँ नवसामन्त भएका छन्, शोषक भएका छन्, उनकै आसेपासे बिचौलिया र दलाल पूँजीपति भएका छन् । ओलीलाई महाराज बनाएर ओलीराजका पञ्चेहरु ललिता निवास कब्जा गर्न पछि परेनन् । जमिन जोत्ने मोहीलाई जमिनको मालिक बनाउने झापा विद्रोहको सपना साकार पार्न लामवद्ध ओली आफू जमिदार भए, भुमाफियाहरु बढ्न थाले । तर, आम नागरिक र जमिनको सम्बन्धमा झन–झन दूरी कामय हुँदै गयो ।

एमाले–माओवादी एकतापछि बनेको नेकपा ओलीकै सेटिङमा खारेज भयो । ओली आज आफ्नै घर जलाएर खरानी घस्दैछन् । पञ्चे तुष्टिमा मस्त छन् ।

सत्तामा आएपछि ओली ‘पञ्चे तुष्टि’मा मस्त छन् । सडक र गल्लीहरुमा ओली महाराजका तस्बिर टाँगिएका छन्, रातारात जी शाह शैलीमा गीत र कविता छापिएका छन् । पैसा दिएर ‘आई लभ यु ओली बा’ भन्दै नारा लगाउने तयार पारिएका छन् ।

जनता हप्काउन, धम्क्याउन ‘साइवर सेना’ परिचालन गरिएका छन् । सहयोद्धाको चियोचर्चो गर्न ‘छौडा बटालियन’ गठन गरिएको छ । झापा विद्रोहका क्रममा ‘वर्ग शत्रु सफाय अभियान’ चलाएका ओली आज ‘सहयोद्धा सफाय अभियान’ चलाउन उद्दत छन् ।

जसरी पञ्चेहरु परिवर्तनको पक्षमा आवाज उठाउनेहरुलाई अनेक मुद्धा भिराएर जेल जाक्थे त्यसरी नै ओली आज मिथ्या मुद्धा लगाएर सहयोद्धा जेल जाक्न खोज्दैछन् । हेग पुर्याउँछु भनेर बेला–बेला प्रचण्डलाई धम्क्याउँछन् । ललिता निवासको जग्गा प्रकरणमा मिथ्या आरोपमा जेल जाक्छु भन्दै माधवकुमार नेपालहरुलाई हप्कीदप्की गर्दैछन् ।

आफूले चालेको कदम समर्थन नगर्नेलाई कुनै पनि हालतमा सिध्याउँने ओलीनीति बनेको छ आफ्नो असंवैधानिक कदमको विरोध गरेको भन्दै सहयोद्धा शहीद नेत्र घिमिरेका छोरी दिव्या घिमिरेलाई ‘सुखानी शहीद समृति प्रतिष्ठान’बाट हटाउनेसम्म घृणित काम गर्न ओली पछि परेनन् ।
शहीदको नाम भजाउन माहिर छन्, ओली ।

जननेता मदन भण्डारीकै अपमान हुनेगरी ‘मदन भण्डारी फाउण्डेसन’को नाममा विगतदेखि नै गुट चलाउँदै आएका छन् । जननेता भण्डारीको नाममा खोलिएको संस्थालाई आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गर्दै आएका छन् । असंवैधानिक कदम समर्थन नगरेको भन्दै फाउण्डेशनबाट समेत धेरैलाई लखेट्ने काम ओलीबाटै भयो ।

ओली आफ्नो विगतप्रति गर्व गर्दैनन् । ‘झापा विद्रोह’ गलत थियो भन्न ओलीलाई कुनै दिन कुर्नुपर्ने छैन । झापा विद्रोहका शहीदको सम्झना र सम्ममान हरेक वर्ष विभिन्न कार्यक्रम हुने गर्दथ्यो ।

तत्कालिन नेकपा एमालेले हरेक वर्ष कार्यक्रम गर्दै आएको थियो । तर, यस पटक ओलीले झापा विद्रोह र सहयोद्धा शहीदहरु सम्झन आवश्यक ठानेनन् । फागुन २१ गते ओली विद्रोही नेत्रविक्रम चन्द ‘विप्लव’लाई काठमाडौंमा स्वागत गर्दै थिए । भलै यो काम गलत त थिएन तर सहयोद्धा सम्झन ओली अनिच्छुक भने पक्कै छन् ।

सत्ता उन्मादमा ओलीले केही बाँकी राखेनन् । ओली नेतृत्वमा आएपछि हजारौँ नेता कार्यकर्ताको योगदानमा स्थापित नेकपा एमाले कमजोर बन्यो । ओली अधिनायकवादले एमाले अभिजात वर्गको पार्टी बन्न पुग्यो । ओलीको उदयपछि कुशल संगठक अशोक राईहरु लखेटिए, हजारौँं आदिवासी जनजातिको योगदान र बलिदानबाट स्थापिन नेकपा एमालेसँग आदिवासी जनजातिको सम्बन्ध टुट्यो ।

माफिया र तस्करसँग ओलीको प्रेमयात्रा सुरु भएपछि वर्षौदेखि पार्टीमा योगदान गरेकाहरु अन्यायमा परे, तिरस्कारको सिकार भए । पार्टीले अवलम्बन गरेका विचार र सिद्धान्त बुझेकाहरु पाखा लाग्दै गएपछि एमाले बुढो रुखजस्तै बन्यो । त्यति नै बेला एमाले–माओवादी एकता भएको हो ।

कम्युनिष्ट आन्दोलनमा ओली अपवाद होइन । ‘ओली प्रवृत्ति’ हिजो पनि थियो । तर, आज ओली प्रवृत्तिले बेजोडसाथ टाउको उठाएको छ । ओली प्रवृत्ति मौलाएको बेला देश र जनताले यस्तै संकट भोग्नुपर्छ । जसरी हिजो पनि जनताले भोगेका थिए ।

कम्युनिष्ट एकता समयको आवश्यकता थियो । जुन आवश्यकताले ऐतिहासिक अवसर प्रदान गर्यो । सत्तामा पुगेर बहुसंख्यक श्रमजीवी वर्गको पक्षमा काम गर्ने एमाले–माओवादीको एकतापछि बनेको नेकपालाई अवसर थियो । तर, ओलीको चाहना एकता थिएन, श्रमजीवी वर्गको काम गर्ने पनि थिएन । सत्तामा पुगेपछि ओलीले गरेका काम र पार्टी एकताको विपक्षमा रचेका अनेक षड्यन्त्रले पुष्टि गरेको छ ।

माओवादीसँग पार्टी एकताको भर्याङ चढेर ओलीले सत्ता हत्याए । सत्ताको दुरूपयोग गर्दै पार्टी विभाजन गरे । सत्ताको आडमा ओलीले व्यवस्था मास्न प्रतिगमन रचे, सत्ताकै आडमा एमाले–माओवादी एकता तहसनहस पारे । एमाले–माओवादी एकतापछि बनेको नेकपा ओलीकै सेटिङमा खारेज भयो । ओली आज आफ्नै घर जलाएर खरानी घस्दैछन् ।

जनतालाई बिकास र समृद्धिको नारामा भूलाएर ओलीले प्रतिगमनको गीत गाए । आधुनिक दासहरु ‘ओली महाराजको जय होस् !’ भन्दै जयजयरका गर्दैछन् । राष्ट्रवादी मुखौटोमा राष्ट्रघाती कदम चाल्न ओली पछि परेनन् ।

चुच्चे नक्सामा जनता भूलाएर ओलीले बालुवाटारको आँगनमा ‘रअ’ नचाए । राष्ट्रिय स्वाधिनतामा हिलो छ्याप्ने काम गरे । देशलाई भूटानीकरण गर्न ओलीले केही बाँकी राखेनन् । तर, पनि आधुनिक दासहरु ‘आई लभ यु ओली बा’ भन्दैछन् ।

कम्युनिष्ट आन्दोलनमा ओली अपवाद होइन । ‘ओली प्रवृत्ति’ हिजो पनि थियो । तर, आज ओली प्रवृत्तिले बेजोडसाथ टाउको उठाएको छ । ओली प्रवृत्ति मौलाएको बेला देश र जनताले यस्तै संकट भोग्नुपर्छ । जसरी हिजो पनि जनताले भोगेका थिए ।

ओली सेटिङमा नेकपा खारेज गरिएको छ । यो हजारौँ कार्यकर्ताको योगदान र बलिदानको मर्मविपरित छ । लाखौँ जनताको चाहनाविपरित छ । हजारौँ शहीदप्रति अपमान हुने काम भएको छ । ओलीको सेटिङकै भरमा कसैले ‘नेकपा’ खारेज गर्ने हैसियत राख्दैन किनकि, नेकपा ओलीको बपौती होइन । लाखौँ लाख नेपाली जनताको योगदानले स्थापित पार्टीबारे निर्णय गर्ने अधिकार नेपाली जनताबाहेक कसैलाई छैन ।

प्रतिक्रिया दिनुहोस्