Logo
Logo

म्याद सकिएको नौ महिनासम्म पनि पुल बनेन


- दृष्टि न्युज/संवाददाता


धनगढी । गोदावरी नगरपालिका वडानम्बर–५ बास्कोटा र वडा नंं. २ उत्तरवनखेतस्थित भालुखोलामा निर्माणाधीन पक्की पुल अवधि समाप्त भइसक्दा पनि ३० प्रतिशत मात्र काम भएको र काम अधुरै राखेर निर्माण कम्पनी बेपत्ता भएपछि स्थानीय आक्रोशित बन्न पुगेका छन् ।
पुल निर्माणका लागि जिम्म लिएको दिवा निर्माण सेवा सातदोवाटो ललितपुर–१५ ले उक्त पुल निर्माणका लागि २०७३ फागुन ६ गतेका दिन नेपाल सरकार जिल्ला समन्वय समितिबीच दुई सम्झौता गरेको थियो ।

उक्त पुल २०७५ जेठ ३ गतेभित्र निर्माणकार्य पूरा गरिसक्ने भन्ने सम्झौता भएको भए पनि नौ महिना सम्म ३० प्रतिशत मात्र काम भएको भन्दै स्थानीय जनता आक्रोशित बन्नुका साथै ढिलासुस्ती गर्ने निर्माण कम्पनी र ठेकेदारमाथि छानबिन गरी कारवाही गरिनुपर्ने मागसहित २९६ स्थानीय बासिन्दाले हस्ताक्षरसहित आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापालाई आइतबार उहाँकै कार्यकक्षमा निवेदन दिएका छन् ।
स्थानीय कृष्णादेवी जोशी, पुष्कर जोशी, यज्ञराज जोशी, गोविन्द भण्डारी, हेमप्रकाश मल्ल, पुष्पराज जोशी, हरेन्द्र मल्ल र खगेन्द्रबहादुर साउदलगायत २९६ जनाको हस्ताक्षरसहितको निवेदन जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापालाई बुझाइएको छ ।
निर्माणकार्य सम्पन्न गर्ने मितिसमेत नौ महिना पर सरेको अवस्थामा ३० प्रतिशत मात्र काम पूरा भएको र ७० प्रतिशत काम पुरै बाँकी रहेको भन्दै उक्त निर्माण कम्पनीले पटकपटक भुक्तानी लिइसकेको र निर्माणकार्य अधुरै राखेको भन्दै स्थानीय जनताले दबाब दिनका लागि अस्थायी राजधानी धनगढीमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई निवेदनसमेत दिएका छन् ।
स्थानीय जनताको एक समूहले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय, गोदावरी नगरपालिकालगायतका निकायलाई निर्माण कम्पनीको ढिलासुस्तीका कारण आवतजावतमा समस्या हुने गरेको र जनताले सास्ती खेप्नु परिरहेको भन्दै निर्माण कम्पनीका ठेकेदारलाई तत्काल कारवाही हुनुपर्ने र काम गर्न सक्ने इमान्दार निर्माण कम्पनीलाई जिम्मा दिनसमेत माग गरेका छन् ।
वडा नं. ४ र २ लाई जोड्ने पुल निर्माणकार्य सम्पन्न नहुँदा वर्षातको समयमा भालु खोलामा बाढी आई आवतजावत गर्न र स्कुले बालबालिकाका लागि झनै समस्या सिर्जना हुने भएकोले स्थानीयबासीले तत्काल पुल निर्माणकार्यलाई सुचारु गराइनुपर्ने मागसमेत गरेका छन् ।
पुल निर्माणकार्यमा भएको ढिलाइका सम्बन्धमा दिवा निर्माण सेवाका सञ्चालक उत्तम बस्नेतसँग बुझ्न खोज्दा उहाँको ९८५१०३९६६२ नम्बरको मोबाइलमा फोन गर्दा फोन उठेन ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले निर्माणकार्यमा भएको दिवा निर्माण सेवा लापरवाही गर्ने सम्बन्धित ठेकेदारलाई एक हप्ताको समयसीमा दिएको, यदि फेरि पनि ढिलासुस्ती गरेको खण्डमा कालोसूचीमा राख्ने बारेमा सम्बन्धित निकायलाई सिफारिशसमेत गर्न सक्ने चेतावनी निर्माण कम्पनीका सञ्चालकलाई दिइसकेको बताएका छन् ।
प्रमूख सूर्यबहादुर थापाले भने– जनताको विकास निर्माणको चाहनामाथि कुठाराघात गर्ने अधिकार कुनै पनि निर्माण कम्पनीलाई नभएकाले त्यस्ता ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउनेतर्फ आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्