Logo
Logo

अध्यागमनमा करोडौको सेटिङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालको अध्यागमनमा ‘भिजिट भिसा’मा हुने सेटिङ त कुनै नौलो कुरा होइन । तर, अहिले नयाँ नयाँ किसिमका सेटिङहरु अध्यागमन अघि बढेका छन् ।

नयाँ प्रविधिका नाममा अहिले अध्यागमन विभागमा करोडौंको चलखेल अघि बढेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयलाई आधुनिकीकरण गर्न भन्दै नयाँ सफ्टवेयर तथा हार्डवेयर खरिद प्रक्रिया अघि बढाइएको छ । जसमा पहिले कम्पनीसँग डिल गरेर टेण्डर प्रक्रिया गर्न लागिएको छ । जसले विभागभित्रै विवाद भएको छ । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्न सक्ने भन्दै विभागका कतिपय कर्मचारीले टेण्डरमा हुन लागेको चलखेलको विरोध गरेका छन् ।
स्रोतका अनुसार पासपोर्ट रिडर र आईरिस स्क्यानर खरिदमा चलखेल भएको हो । टेण्डरमा जिमाल्टो नामक कम्पनीका उत्पादनलाई मिल्ने गरी ‘टेक्निकल स्पेशिफिकेसन’ बनाइएको छ । स्पेसिफिकेसनमा नै सामानको साइजदेखि वेटसम्म तोकेर सेटिङ गर्न लागिएको हो । यसरी मिलेमतोमा साढे दुई करोडको टेण्डरमा आधा रकम भ्रष्टाचार हुन लागेको छ ।
पासपोर्ट रिडरको स्पेसिफिकेसनमा डाइमेन्सन नै तोकिएको छ । जसमा लम्बाई १९ सिएम, चौडाई १६.२ तथा उचाई १५.७ राखिएको छ । पासपोर्ट रिडरको गुणस्तर भन्दा पनि आकार तोकिनु सार्वजनिक खरिद ऐन विपरीत हो ।
आइरिस रिडरको पनि त्यसै री टेण्डर गरिएको छ । जसको डाइमेन्सन र हाउजिङ समेत तोकिएको छ । जून ठ्याक्कै जिमाल्टोको उत्पादनसँग मात्र मिल्ने किसिमको छ । स्रोतका अनुसार जिमाल्टो कम्पनीले उत्पादन नै बन्द गरेको पुरानो प्रविधिको आइरिस स्क्यानर खरिद गर्न लागिएको छ । सो कम्पनीले उत्पादन गरेका केही स्क्यानर स्टक रहेकाले त्यसलाई बिक्री गर्न चलखेल भएको हो ।
पुतलीसडकस्थित म्याक्स इन्टरनेशनल नामक कम्पनीले विभागका महानिर्देशक ईश्वरराज पौडेल, निर्देशक विष्णुहरि उपाध्याय तथा आईटी इन्जिनियरहरुलाई प्रभावमा पारिसकेका छन् । तर, अख्तियारले छानबिन गरेमा आफूहरु फस्ने विभागका कर्मचारीको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्